हेटौंडाः मकवानपुर जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै पुनः निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण हुनेको दर घटेपनि हाल जिल्लामा ५ सय जनाभन्दा बढी सक्रिय संक्रमित रहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि गत बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउन ७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहनेछ ।
जिल्लाभित्र संक्रमणको दर क्रमशः घट्दै गएको भएपनि जोखिम यथावत नै रहेको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ पाण्डेले बताउनुभयो ।
हाल निषेधाज्ञालाई केही खुुकुलो गरिएको भएपनि कोरोना संक्रमण पूर्णरुपमा भने हटिसकेको छैन । कोरोना संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालयले बारम्बार मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर मकवापनुर जिल्ला सदरमुकाम तथा बागमती प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा भौतिक दुरी कायम गर्नु त परको कुरा, कतिपय नागरिकले मास्कको समेत प्रयोग नगर्ने गरेको पाइएको छ ।
निषेधाज्ञा जारी भएको २ महिनाभन्दा बढी समय हुँदा पनि संक्रमण यथावतरुपमा देखिनुमा कमजोरी कसको भन्ने विषयमा हामी सबैले बुझ्नु आवश्यक छ । जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित संस्थाहरुले संक्रमण न्यूनीकरण गर्न विभिन्न प्रयासहरु गरिनै राखेका छन् । निषेधाज्ञा जारी हुँदा सर्वसाधारण नागरिकको जीवनस्तरमा प्रभाव पर्दै गएपछि निषेधाज्ञालाई केही खुकुलो बनाउने काम गरिएको थियो । तर निषेधाज्ञा खुकुलो हुँदा सर्वसाधारणहरु भने सामान्य जीवनस्तरमा नै फर्किएका झैं देखिएका छन् । हाल निषेधाज्ञा भने व्यवसायीहरुका लागि मात्र गरिएको हो कि भन्ने कुरा व्यवसायीहरुको छ ।
सर्वसाधारणकै लापरवाहीले गर्दा पनि कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको अवस्था छैन भन्ने कुरा आजभोलि हेटौंडामा बढेको भिडभाडबाट नै प्रष्ट हुन्छ । सबैलाई कोरोना संक्रमणको विषयमा जानकारी हुँदाहुँदै पनि लापरवाही किन भइरहेको छ ? भन्ने विषयमा कसैले पनि बुझ्न सकिरहेका छैनन् । हाल हेटौंडामा भिडभाड हुने स्थानहरुमा जिल्ला प्रशासन कार्यालयले विभिन्न संघसंस्थाहरुको समन्वयमा हेल्प डेस्क नै सञ्चालन गरी मास्क वितरण अभियान चलाइरहेको छ । तर अधिकांश मानिसहरुलाई मास्क लगाएर हिँड्न आग्रह गर्दा पनि बेवास्ता गर्दै हिँड्ने गरेको अभियानमा खटिएका स्वयम्सेवकहरु बताउँछन् ।
यसपटक थप गरिएको निषेधाज्ञालाई पनि अझै केहीमात्रामा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले तरकारीलगायत खाद्यान्न खरिद गर्ने र अन्य सामग्री खरिद गर्नेहरुलाई फरक–फरक समयमा मिलाएर बजारमा भिडभाड कम गराउन प्रयासरत देखिएको छ । अत्यावश्यक उपभोग्य वस्तुहरु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्ने पसलहरू बिहान ४ बजेदेखि बिहान ११ बजेसम्म र अन्य गैरखाद्य पसलहरू बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने प्रजिअ पाण्डेले जानकारी दिनुभएको छ । फुटपाथमा पसल राखेर सामान बिक्री गर्न भने प्रशासनले रोक लगाएको छ ।
रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुनेगरी मात्र विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइने, होटल तथा लज सञ्चालन सम्बन्धमा कूल बेड क्षमताको एक तिहाईलाई मात्र सेवा दिनेगरी सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयबाट निर्देशन प्राप्त भएको छ । तर, होटल, लज तथा रेष्टुरेन्टहरूमा कुनै पनि प्रकारको भोज भतेर, भेला, सम्मेलन, गोष्ठी, तालिम तथा सेमिनार सञ्चालन गर्न नपाइने जनाइएको छ । अन्य नियमहरु भने यथावत नै राखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।