हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले ९ वटा कम्प्युटर, २ वटा प्रोजेक्टर, १ वटा प्रिन्टर सहयोग गरेको छ । प्रविधिमैत्री शिक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ५ लाख रुपैयाँ बराबरको आधुनिक प्रविधिको उपकरणहरु सहयोग गरिएको बताइएको छ ।
वडा अध्यक्ष नवीन सिग्देलले शिक्षा क्षेत्रमा डिजीटल उपकरण सहयोग गरिएको बताउनुभयो । गुणस्तरीय शिक्षामा जोड दिन सहयोग पुग्ने उहाँले अपेक्षा गर्नुभएको छ । कार्यक्रममा हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले तराई क्षेत्रदेखि विकट ठाउँबाट विपन्न वर्गका विद्यार्थी पनि उच्च शिक्षा हासिलका लागि आउने भएकाले कक्षा १२ मा कम्प्युटर विषय पढाउने वातावरण मिलेकोे बताउनुभयो । स्थानीय तथा प्रदेश सरकारको सहयोगमा क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक विकासमा थप सहयोग पुगेकोले विद्यार्थीलाई न्यून शूल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज भएको पनि क्याम्पस प्रमुख मानन्धरले बताउनुभएको छ ।