चिरञ्जीवी लामिछाने

चलायमान रहनु संसारको रीत हो । गतिशीलता सिंगो ब्रह्माण्डकै एउटा गुण हो । निश्चित गतिमा तारा/ग्रहहरु चल्दछन्, निश्चित आवृत्तिमा ऋतुहरू बदलिन्छन्, मौसम स्थिर भएर बस्न खोज्दैन, दिन र रातको चक्र उसैगरी चलिरहन्छ । दिनका हरेक प्रहरहरूसँगै देखिने–नदेखिने धेरै खालका परिवर्तन भइरहेका हुन्छन् । संसारमा हिजोका सबै कुराहरू आज छैनन्, आजका सबै कुराहरु भोलि रहँदैनन् । तपाईँ–हामी अनि हाम्रो शरीर पनि यसै ब्रम्हाण्डको अंश भएकाले हामीमा पनि अवश्य त्यो गुण लागू हुन्छ । हाम्रो शरीर पनि यसबाट अछुतो रहन सक्दैन । शरीरमा गतिशीलता हुँदा र नहुँदा के कस्तो फरक पर्छ ? हाम्रो शरीरलाई पानीजस्तै मान्ने हो भने वास्तवमा हामी के जस्तो हुनु जरुरी छ ? नबग्ने तलाउजस्तो वा निरन्तर बगिरहने नदीजस्तो ? तलको तुलनात्मक तालिकालाई हेरौं ।

मानिस स्वस्थ रहनका लागि शरीरमा विविध कारणले जम्मा भएर बसेका फोहोर/विकार तथा हानिकारक वस्तुहरूको असरबाट शरीरलाई छिटोभन्दा छिटो मुक्त गराउनु जरुरी हुन्छ । हामीले खाएका धेरैजसो खानेकुराहरुमा कुनै न कुनै खालका रसायन तथा विषादीहरूको अवशेष पाइने गरेको विभिन्न अनुसन्धानहरुले बताएका छन् । हाम्रो आधुनिक जीवनशैलीले गर्दा तयारी (instant) तथा धेरै मात्रामा प्रोसेस गरिएका (highly processed), पछिसम्म ताजा तथा नबिग्रिएको देखाउन प्रयोग गरिने रसायन (preservatives) आदिका कारण मानिसको स्वास्थ्यमा अनावश्यक विकारहरु जम्मा हुँदै गइरहेको छ । राम्रो कुराको राम्रो असर भएजस्तै नराम्रो कुराको पनि त्यही खालको असर हुन्छ । शरीरमा यस्ता हानिकारक पदार्थहरूको सञ्चयले गर्दा खराब असरहरू दिनानुदिन बढ्दै गइरहेका छन् ।

सायद यसैकारण विभिन्न समयमा देखा पर्ने स्वास्थ्यजन्य संकटहरुमा मानव समुदायले ठूलो पराजय भोग्दै आइरहेको छ । हाल विश्वभर फैलिरहेको विभिन्न चरणको कोभिड संक्रमणले गर्दा पनि हाम्रो स्वास्थ्य रक्षात्मक (defensive) वा आत्मसमर्पण (surrender)को अवस्थामा पुगिसकेको देखिन्छ । अप्राकृतिक रुपमा मानव शरीरमा सिर्जित यस्ता हानिकारक असरहरुलाई प्राकृतिक तथा जैविक (organic) उपायहरुबाट सकभर छिटो मुक्त गराउनु नै सबैभन्दा बुद्धिमानी ठहर्छ । अन्यथा मानव स्वास्थ्यले आगामी दिनमा के कस्ता समस्याहरु झेल्नुपर्ने हो त्यसको अनुमान अहिले गर्न सकिन्न ।

जसरी तपाईँ हामीले बाहिरी शरीर, भान्साकोठा, घर–आँगनको नियमित सफाइ गर्ने गर्छौं, त्यो भन्दा पनि बढी जरुरी छ हाम्रो शरीरको आन्तरिक सफाइको । फोहोर/विकार/विषादी तथा तिनीहरूको असर शरीरमा बढिरहने तर तिनीहरूबाट शरीरलाई मुक्त बनाउने प्रयास नगर्ने हो भने हाम्रो स्वास्थ्यले के कस्ता चुनौती सामना गर्नुपर्ने हुन्छ तपाईं हामी सबैले देखिरहेका छौं । आफ्नो भोजनलाई स्वादिष्ट, पोषिलो र स्वस्थकर बनाउने प्रयास सबैले गरिरहेकै हुन्छन् । यति हुँदाहुँदै पनि त्यही भोजनमा अनावश्यक रूपमा शरीरलाई असर गर्ने विषाक्त वस्तुहरु, ताजा देखाउन प्रयोग गरिने रसायन, मिसावट, अखाद्य रङ आदिले गर्दा जो कोहीलाई पनि जहिलेसुकै अनेकौं प्रकारका स्वास्थ्य समस्याको जोखिम बढिरहेको छ । अझ कतिपय मानिसहरुले स्वादको लागि खाने चिल्लो, पिरो तथा मसालेदार खानेकुराहरुले उति नै असर पु¥याइरहेका हुन्छन् । झनै आदतवश मानिसहरुले सेवन गर्ने खैनी, सुर्ती, चुरोट, रक्सी, लागुपदार्थ आदिले पार्ने असरको त कुरै छाडौं ।

प्राकृतिक रुपमा हेर्ने हो भने संसारको हरेक जीवन प्रणाली (biological system) सँग आफूलाई आन्तरिक रूपमा सफाइ तथा शुद्धीकरण गर्ने गुण (internal cleansing) विद्यमान रहेको पाइन्छ । तसर्थ पूर्णतः प्राकृतिक वातावरणमा हुर्केका जीवजन्तु र वनस्पतिको शरीरमा अनावश्यक विकार जम्मा भएर बस्न पाउँदैन । यसको विपरित अप्राकृतिक र अस्वस्थकर खानपान गर्ने तथा जीवनशैली अपनाउने मानिसहरुमा प्राकृतिक रुपमा हुने आन्तरिक शुद्धीकरण घट्दै घट्दै जाने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । फेरि यथार्थ यो पनि छ, अप्राकृतिक रुपमा शरीरमा जम्मा भएको विकार तथा त्यसको तत्काल शुद्धीकरणबारे धेरै मानिसहरु अनभिज्ञ छन् र धेरैसमय बितेपछि तथा ठूलो समस्या देखिन थालेपछि मात्र मानिसहरुले त्यस्ता स्वास्थ्य समस्याबाट मुक्त हुने उपायको खोजी गर्ने गर्दछन् । मानौं स्वास्थ्यको बारेमा चिन्ता लिने भनेको शरीरमा ठूलो समस्या आएपछि मात्र हो । अझ अर्को डरलाग्दो कुरा के देखिन्छ भने अप्राकृतिक तवरले सिर्जित विकारहरु हटाउनका लागि अधिकांश मानिसले अप्राकृतिक विधिको सहारा लिइरहेका छन्, जुन फलदायी भन्दा पनि प्रत्युत्पादक रहने सम्भावना बढी हुन्छ । जस्तै, आधुनिक चिकित्सा प्रणालीकै अधिकांश विधिहरू अप्राकृतिक लाग्दछन् ।

तपाईँ हाम्रो खाना प्रणाली तथा अन्य बानी व्यवहारहरू क्रमशः प्राकृतिकबाट कृत्रिम र बनावटी बन्दै गरेको यथार्थलाई हामीले भुल्नु हुँदैन । यसैकारण हाम्रो स्वास्थ्यमा दिनप्रतिदिन जोखिम बढ्दै गइरहेको छ । तपाईं हामीले प्रयोग गर्ने खानेकुरा, पानी, प्रदूषित हावा, औषधी उपचार पद्दति, विद्युतीय उपकरणहरु, सौन्दर्य प्रशाधनहरू, घरायसी रुपमा प्रयोग हुने हानिकारक रसायन मिसिएका अनेकौं सामग्रीहरू, साबुन, स्याम्पु डिटरजेन्ट, लामखुट्टे/साङ्ला जस्ता किराहरू मार्न प्रयोग गरिने रसायन, सरसफाइको लागि प्रयोग हुने रसायनहरु, घरका भित्तामा लगाइने रङहरू आदिका कारण हाम्रो स्वास्थ्यको स्तर हामीले कल्पना गर्ने गरेको भन्दा धेरै तल झरिसकेको छ । एक त मानिसहरुमा सकेसम्म शारीरिक परिश्रम गर्नु नपरोस् भन्ने मानसिकताको विकास भएको छ भने अर्कोतिर चौतर्फीरुपमा शरीरमा अनावश्यक विकार तथा कृत्रिमताको असर पारिरहेको छ । नबग्ने पोखरीमा फोहोरमथि फोहोर थपिरहँदा त्यो पोखरीको हालत कस्तो हुन्छ होला, त्यस्तै अवस्था अहिलेका मानिसहरूको स्वास्थ्यमा आइरहेको छ । पोखरीबाट नदीजस्तो बन्ने प्रयास तपाईँ हामीले गर्ने कि नगर्ने ?

मानव शरीर एउटा प्राकृतिक मेसिन हो । नियमित रुपमा र पर्याप्त मात्रामा चलाउने हो भने अनि त्यसको आवश्यक मर्मत सम्भार र निगरानी गर्दै हो भने शरीरले प्राकृतिक वा प्रकृतिसँग नजिकिएको स्वरुप प्राप्त गर्दछ । प्रकृतिले दिएका स्वस्थ्यबद्र्धक जडीबुटीहरूको पहिचान गरी तिनीहरूको नियमित सेवन, प्राकृतिक जीवनशैली, नियमित व्यायाम तथा शारीरिक परिश्रमको साथमा सकारात्मक सोचको माध्यमबाट शरीरलाई अधिकतम स्वास्थ्यको तहमा पुर्‍याउन सकिन्छ । यसबाट आफूलाई अनेकौं प्रकारका स्वास्थ्य समस्याबाट पनि बचाउन सकिन्छ ।