अनलाइन कक्षामा सहभागी एक विद्यार्थी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरुले सञ्चालन गरेको प्रविधिमैत्री शिक्षा प्रभावकारी बन्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्रविधिमैत्री शिक्षालाई जोड दिएको भने पनि नगरभित्रकै विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा प्रभावकारी हुन नसकेको हो ।

गत असार १० गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले प्रविधिमैत्री र गुणस्तरीय शिक्षामा जोड दिइने बताउनुभएको थियो । तर, कोरोना भाइरस संक्रमण जोखिमका कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा विद्यालयहरुले सञ्चालन गरेको प्रविधिमैत्री सिकाई प्रभावकारी बन्न सकको छैन ।

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै हेटौंडा उपमहानरपालिका क्षेत्रका अधिकांश संस्थागत तथा सामुदायिक विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन । अनलाइन कक्षामा विद्यार्थीको सहभागिता न्यून हुँदा प्रभावकारी बन्न नसकेको हो । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयले सञ्चालन गरको अनलाइन कक्षामा विद्यार्थीको सहभागिता बढी देखिए पनि पूर्ण भने छैन ।

विद्यालय, शिक्षक तथा अभिभावकसँग प्रविधिमैत्री शिक्षणका लागि आवश्यक पर्याप्त उपकरण तगा प्रयोगको ज्ञान नहुँदा अनलाइन शिक्षण सोचेजस्तो प्रभावकारी नभएको गुनासो पाइन्छ । उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्रविधिमैत्री शिक्षालाई जोड दिए पनि त्यसअनुसार कार्यक्रम नहुँदा प्रविधिमैत्री सिकाई प्रभावकारी बन्न नसकेकोमा प्रधानाध्यापकहरुको गुनासो छ ।

‘शिक्षामा प्रविधिको प्रयोगको कुरा हल्ला र चर्चामात्र बढी भएको छ’, वंशगोपाल मावि चौघडाका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने भन्नुहुन्छ– ‘कोभिड—१९ को विषम परिस्थितिमा भौतिक उपस्थितिमा शिक्षण कार्य सम्भव नहुँदा शिक्षा क्षेत्र पनि अस्तव्यस्त भएको छ ।’ उच्च शिक्षामै प्रविधिको प्रयोग अपेक्षाकृत प्रभावकारी बन्न नसकेको अवस्थामा विद्यालय तहमा झनै प्रभावकारी हुन नसकेको लामिछानेले बताउनुभयो ।

सामुदायिकमात्र नभई निजी विद्यालयमा पनि अनलाइन कक्षा पूर्ण प्रभावकारी देखिएको छैन । जीएस निकेतनका सहायक प्रधानाध्यापक दीपक गौतम भन्नुहन्छ– ‘विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा ७५ प्रतिशत विद्यार्थीमात्र सहभागी छन्, २५ प्रतिशत विद्यार्थीलाई विद्यालयले समेट्न सकेको छैन ।’ अनलाइनमा सहभागी नभएका विद्यार्थीलाई अरु वैकिल्पक विधिबाट पनि शिक्षण सिकाईमा समेट्न नसकेको उहाँले जानकारी दिनुभयो ।

त्रिभुवन माध्यमिक विद्यालय नवलपुरका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन सुरु भइनसकेको बताउनुभयो । ‘विद्यार्थी भर्ना तथा अभिलेखीकरण र पाठ्यपुस्तक वितरण भइरहको छ’, प्रधानाध्यापक भण्डारीले भन्नुभयो– ‘छिट्टै अनलाइनबाट पठनपाठनको तयारी गरिरहेका छौं ।’

अहिलको अवस्थामा शिक्षामा प्रविधिको प्रयोग बाध्यात्मक बनिरहेको भए पनि प्रभावकारी हुन नसकेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । आधुनिक प्रविधिप्रतिको आकर्षण र शिक्षण सिकाईलाई प्रविधिको प्रयोग आवश्यक भए पनि प्रभावकारी हुन नसकेको उहाँले जानकारी दिनुभयो । ‘इन्टरनेटको असुविधामा कक्षा सञ्चालन गर्न सकिँदैन भने कक्षा सञ्चालन गर्दागर्दै विद्युत् कटौती हुन्छ’, प्रधानाध्यापक भण्डारी भन्नुहुन्छ– ‘विद्यार्थीले अनलाइन कक्षामा सहभागी भएर कति सिके भन्ने कुराको मापन गर्न सहज छैन ।’

भर्चुअल माध्यमबाट पठनपाठनलाई निरन्तरता दिइरहेको कमाने एकेडेमीका प्रिन्सिपल प्रतिभा डंगोल पनि साना कक्षाका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन समस्या भइरहेको बताउनुहुन्छ । ‘माथिल्ला कक्षाका सबैजसो विद्यार्थी अनलाइन कक्षामा सहभागी छन्’, प्रिन्सिपल डंगोल भन्नुहुन्छ– ‘तल्लो कक्षाका ३० देखि ८० प्रतिशतसम्म विद्यार्थीमात्र अनलाइन कक्षामा उपस्थित भइरहेका छन् ।’ इन्टरनेटको पहुँच नभएको तथा अभिभावकले बेवास्ता गरेकाले विद्यार्थी अनलाइन कक्षामा उपस्थित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

अधिकांश विद्यालयका प्रधानाध्यापकहरुका अनुसार केहि संस्थागत विद्यालयबाहेक अधिकांश शिक्षण संस्थाको अनलाइन कक्षामा आधा पनि विद्यार्थी जोडिन सकेका छैनन् । अनलाइनबाट पढाउन नसकिने साना कक्षाका विद्यार्थीलाई गृहकार्य दिइने गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले बताउनुभएको छ । अझै अनलाइनलगायत कुनै पनि वैकल्पिक विधिबाट पठनपाठन सुरु नगर्ने विद्यालय पनि प्रशस्तै रहेका छन् ।

सामुदायिक विद्यालयले विद्यार्थीहरुको आर्थिक, पारिवारिक, सामाजिक कारण अनलाइनमा कक्षामा समेट्न नसकिएको अवस्था चुनौतीपूर्ण देखिन्छ । प्रविधिको प्रयोग गरेर सञ्चालन भइरहेको अनलाइन कक्षामा पनि कति विद्यार्थी जोडिए, कति विद्यार्थी वैकल्पिक सिकाई प्रक्रियामा समावेश हुन सकेका छैनन् अनि कति विद्यालयले वैकल्पिक शिक्षा सुचारु गरिरहेका छन् भन्ने कुरा हेटौंडा उपमहानगरपालिकाले तथ्यांक राखेको पाइँदैन ।