आवश्यकताको पहिचान गर्न नसक्दा नेपाल कम विकासको अवस्थामा रहेको विज्ञहरुको टिप्पणी छ । सरकारको प्राथमिकता, योजना छनौट र बजेट विनियोजनलाई विश्लेषण गर्दा विज्ञहरुको टिप्पणी अझै धेरै वर्षसम्म सही प्रमाणित भइरहने देखिन्छ । उच्च प्राथमिकता दिनुपर्ने पक्षहरु योजना निर्माण गर्दादेखि बजेट विनियोजन गर्ने समयमा पुच्छारमा हुने गरेका छन् । जनताको चेतना, आर्थिक अवस्था तथा शिक्षाको गुणस्तरले प्राथमिकताका अनेक क्षेत्र छन् । बजेट विनियोजन हुनुपर्ने धेरै क्षेत्रहरु ओझेलमा छन् । त्यसमध्ये सधैँ अन्तिम छनौटमा पर्नेमध्येको खेलकुद क्षेत्र हो । योजना आयोगदेखि सरकारी संयन्त्र तथा नेतृत्व सबैले खेलकुद क्षेत्रलाई अतिरिक्त समूहमा राखेर बजेट व्यवस्था गरेका हुन्छन् । यसमा उनीहरुको चाहना भन्दा पनि खेलकुदको महत्वलाई नबुझ्दाको परिणति हो ।
संघीय बजेटमा खेलकुद क्षेत्रले कूल बजेटको १ प्रतिशत पनि स्थान पाएको छैन । खेलकुदको नेतृत्वले कम्तिमा एक प्रतिशत बजेट छुट्याउन गरेको दवाव पनि आजसम्म सफल हुन सकेको छैन । खेलकुदको बहुआयामिक पक्षलाई राज्यले आत्मसात गर्ने हो भने सबैभन्दा उच्च प्राथमिकता यही क्षेत्रले पाउनेमा दुईमत छैन । नेपाली परिवेशमा प्राथमिकताका धेरै क्षेत्र छन् भन्दैमा अत्यावश्यक क्षेत्र सधैं ओझेलमा पार्नु आजको विश्व परिवेशमा लाजमर्दो विषय हो । तर पनि नेपाली समाजले आज पनि खेलकुदलाई उच्च प्राथमिकता दिन सकेको छैन । खेलकुदलाई अतिरिक्त क्रियाकलापमा मात्र सीमित गरेको छ भने राज्यले पनि विकास तथा योजना र बजेटमा पनि अतिरिक्तमै सीमित गरको छ ।
मानवीय जीवनमा खेलकुदको महत्व बुझेको नेतृत्व सत्तामा पुगेमात्र खेलकुदले प्राथमिकता पाउने प्रष्ट छ । केही स्थानीय तहहरुले खेलकुदलाई दिएको महत्वबाट पनि यो कुराको पुष्टि गर्दछ । स्थानीय तहहरुले हालै बजेट सार्वजनिक गरेका छन् । जुन नेतृत्व खेलकुदको जानकार छ, उसले खेल बजेटलाई उच्च प्राथमिकतामा राखेको छ । यसरी महत्व दिने स्थानीय तहमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका पनि देखिएको छ । जिल्लाका दशवटा स्थानीय तहमध्ये केही पालिकाले मात्र यसप्रकारको महत्व दिएका छन् । जुन पालिकाको नेतृत्व खेलप्रति अनविज्ञ छन्, उनीहरुले औपचारिकता पूरा गर्नमात्र खेलकुदलाई बजेट छुट्याएका छन् । उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बजेट कार्यक्रम ल्याएको छ ।
उपमहानगरले सार्वजनिक गरेको २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको कुल बजेटमा नगरपालिका क्षेत्रभित्र खेलकुदका कार्यक्रम सञ्चालन तथा खेलकुद पूर्वाधार निर्माणको लागि ३ करोड ७२ लाख ८० हजार बजेट छुट्याइएको छ । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले नगरमा सञ्चालन हुने र गरिने खेलकुद कार्यक्रममा समन्वयकारी भूमिका प्रदान गरिने जनाएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष उपमहानगरपालिकाले दिल खोलेर खेलकुदलाई बजेट विनियोजन गरेको देखिन्छ । वर्तमान जनप्रतिनिधिको चालु कार्यकालको अन्तिम बजेट भएकाले पनि खेलकुदले महत्व पाएको देखिन्छ । काम गर्नकै लागि हो भने विगत बर्षहरुमा किन बजेटमा कन्जुस्याईं गरियो भन्ने प्रश्न गर्न सकिन्छ । तर यो बजेटले अर्को बर्षका लागि पनि सकारात्मक प्रभाव पार्नेछ ।