शैक्षिक विकास र विस्तारका लागि नेपालमा सुरु भएको पुस्तकालय पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । राज्यबाट सञ्चालन भएका पुस्तकालयहरुसमेत उचित व्यवस्थापन हुन सकेका छैनन् । प्रविधिको विकाससँगै युवापुस्ता पुस्तकालयमा नजानेमात्र हैन कि, घरमा समेत पुस्तक पढ्न छाडेका छन् । यसले मानिसको ज्ञानलाई प्रविधिमा आधारित बनाइदिएको छ । व्यक्तिको ज्ञानको विस्तार भन्दा प्रविधिमार्फत् सहजै विषयवस्तु खोज्ने बानीले पढ्ने बानी हराउँदै गएको हो । यस्तो प्रवृत्तिले खोज्ने, सोँच्ने र चिन्तन गर्ने बानी हराइसकेको छ । युवाहरुमा पुस्तक पढ्ने बानीको विकास गराउनका लागि कुनै नियम कानुनभन्दा पनि चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन समाजको जिम्मेवारी बढी छ ।
नेपालमा २०५० को दशकसम्म पनि पुस्तकालयको प्रयोग हुँदै आएको थियो । विद्यार्थी, अनुसन्धान तथा सोधकर्ता र अध्यापकहरु पुस्तकालयकै प्रयोग गर्थे । लेखक तथा विश्लेषकहरुले कुनै विषयको धारणा बनाउन पुस्तकालयको प्रयोग गर्थे, तर अब ती सवै विषय सहजै प्रविधिमार्फत् विश्व घुम्न सक्ने भएपछि पुस्तकालय प्रयोगविहीन हुन पुगेको अवस्था हो । आफूले खोजेको विषय सहजै पाउने भए पनि प्रविधिले मानिसको दिमागलाई चाहिएको भन्दा अन्य पक्षमा सोँच्नै नपर्ने अल्छे बनाउँदै लगेको छ । प्रविधिको बढी प्रयोग गर्दा छिटो र सजिलो भए पनि व्यक्तिगत श्रृजनशीलतामा कमी आउँदै गएको छ । त्यसैले पनि पठन संस्कृतिलाई पुनः सक्रिय बनाउन आवश्यक छ । तर कसैले पुस्तक पढ्न भन्नुभन्दा पनि व्यक्ति स्वयम् उत्सुक हुने वातावरण निर्माण गरिनु आजको आवश्यकता हो ।
सरकारले २०३० को दशकमा विद्यालय पुस्तकालयलाई शिक्षा प्रसारको माध्यमका रुपमा विकास गर्ने नीति लिएको थियो । तर हाल त्यो परिस्थिति छैन । त्यसैले माध्यमिक तहसम्मका विद्यालयहरुले पुस्तकालय स्थापना नै गरेका छैनन् । श्रृजनशील व्यक्तित्व निर्माणका लागि पुस्तक अध्ययन गर्नु आवश्यक हुन्छ । प्रविधिको अधिनस्त रहने बानीले नेपाली समाजलाई अझै डोहो¥याउन सक्ने अवस्था बनेको छैन । यदि प्रविधिकै मात्र भर पर्नुपर्ने हो भने विश्वका ठूला विद्वानहरुले पुस्तक किन लेख्थे र पढ्थे । पछिल्लो पुस्ताले पुस्तक पढ्न छोड्दै गएपछि पुस्तकालयहरुसमेत बन्द हुँदै गएको पाइन्छ । फुर्सदको समयमा प्रविधिसँग मात्र रमाउने भन्दा पुस्तक पढ्ने बानीको विकास आवश्यक छ ।
मकवानपुरमा स्थापित धेरै पुस्तकालय लामो समयदेखि बन्द अवस्थामा छन् । मकवानपुरमा सबैभन्दा पहिला तत्कालीन सदरमुकाम भीमफेदीमा ज्योति पुस्तकालय स्थापना गरिएको थियो । तर ग्रामीण क्षेत्रमा स्थापना भएका पुस्तकालयहरु यतिबेला अस्तित्वमा नै छैनन् । यता हेटौंडामा केही पुस्तकालयहरु अस्तित्वमा भए पनि व्यवस्थापन र सञ्चालन हुन सकेको अवस्था छैन । पुस्तकालयको सञ्चालन अध्ययनका लागि जाने मानिसहरुको संख्यामा भर पर्दछ । यतिबेला हेटौंडाको युवा समूह पुस्तकालय व्यवस्थित गर्ने र मानिसहरुमा पठन संस्कृतिको विकास गराउने अभियानमा लागेको देखिन्छ । हेटौंडाका अतिरिक्त जिल्लाका अन्य ठाउँहरुमा पनि पुस्तकालयलाई पुनः व्यवस्थित गर्ने युवाहरुको प्रयासमा स्थानीय नागरिकदेखि सरकारले समेत साथ र सहयोग गर्नु आवश्यक छ ।