सानुकान्छी स्याङ्तान

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ । कोभिड–१९ संक्रमित भई अस्वस्थ हुनुभएकी स्याङ्तानको आइतबार बिहान साढे ४ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित घरमै उहाँको निधन भएको हो ।

कोभिड–१९ संक्रमित हुनुभएपछि राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहनुभएकी स्याङ्तानको स्वास्थ्यमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

केहीदिन अघि नै कोभिड–१९ संक्रमणमुक्त हुनुभएपनि कोभिड–१९ कै कारण निमोनियाबाट गम्भीर रुपमा प्रभावित हुनुभएको भनी परिवारका सदस्यले जानकारी दिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । दमसम्बन्धी स्वास्थ्य समस्या भएकोले पनि कोभिड–१९ संक्रमणले स्वास्थ्य अवस्था जटिल भएको बताइएको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दिनु भई राक्सिराङ गाउँपालिका–३ बाट वडा सदस्य निर्वाचित हुनुभएकी स्याङ्तान जिल्ला समन्वय समिति सदस्य निर्वाचित हुनुभएको हो । प्रौढकक्षा पढेर अक्षर चिन्नुभएकी स्याङ्तान गाउँमा जुवातास र जाँडरक्सी, कुलत नियन्त्रण अभियानमा लागेर साविक सरिखेत गाविसको महिलाको नेतृत्व गर्दै महिला सहकारीको अध्यक्ष हुनुभएको मनहरीका पत्रकार शिवकुमार काशीले उल्लेख गर्नुभएको छ । महिला हिंसा, लैंगिकतामा आधारित हिंसाको बिरुद्ध डटेर लड्नु भएकी स्याङ्तानले राक्सिराङ गाउँपालिकाका सयौँ महिलाको जीवन सहज बनाउन भूमिका निर्बाह गर्नु भएको छ ।