लागूऔषध गाँजासहित पक्राउ परेका प्रताप र लालबहादुर ।

हेटौंडाः मकवानपुर प्रहरीले ७९ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २० वर्षीय प्रताप स्याङ्तान र कैलाश गाउँपालिका–२ का ४३ वर्षीय लाल बहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङको चैनपुरस्थित प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा पक्राउ प्रताप र लालबहादुरलाई राक्सिराङ–५, परेवाभीरबाट लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिँडिरहेका ८/९ जना मध्ये अन्य भने फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनालाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको र फरार भएकाहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।