हेटौंडाः विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै मकवानपुरमा सुरु भएको निषेधाज्ञा केही खुकुलो भए पनि जारी छ । निषेधाज्ञाको समयमा सबै क्षेत्र ठप्पप्रायः हुँदा पनि कतिपय मानिसहरु सडकमा मागेर खाने र कबाडी सामान टिपेर त्रिपालकै झुपडीमा रात कटाउनेहरु पनि छन् । त्यस्ता मानिसहरुमा अधिकांश विभिन्न संघसंस्थाको आश्रय छाडेर सडकमै रमाउन आउनेहरु छन् ।
संस्थागत आश्रयस्थल छाडेर सडकमै रमाइरहेका छन्, हेटौंडा–२ राजु खड्की । घरायसी झगडाका कारण सडकमा आएको बताउने ५२ वर्षीय राजु मानवसेवा आश्रम छाडेर सडकमै आएका हुन् । उनले विभिन्न समयमा मानवसेवा आश्रमले सडकबाट समातेर लगे पनि भागेर फेरि सडकमै आएएर कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
आफ्ना दुई छोरा र एक छोरी भए पनि उनीहरु कसैले पनि आफूलाई नरुचाएको कारण मागेर जीवन बिताउने गरेको राजु बताउँछन् । आश्रममा रहँदा मानव जीवनको अर्थ र संघर्षका बारेमा बुझाउँदा पनि आफूलाई सकडकै जीवन बेस लागेको राजुको भनाई छ । सडकमा आएको ६ वर्ष भएको र दिनमा ५ सय रुपैयाँसम्म कबाडी सामान संकलन गरेर कमाउने गरेको उनले बताए ।
यसैगरी अभिभावकविहीन भएर सडकमा आएको बताउँछन्, बुद्धिबहादुर तामाङ । ढेड वर्षदेखि आश्रमबाट निस्केर हिँडेको र आश्रममा नै आफ्नो बैंकको चेक र नागरिकता रहेको उनले बताएका छन् । खान दिएपनि काम गर्नुपर्दा आश्रमबाट हिँडेको उनको भनाई छ ।
दाजुभाउजुको हेलाका कारण सानैमा सडकमा आएका तामाङ अहिले लगभग ६५ वर्षका छन् । यसरी सडकमै कष्टकर जीवन बिताउनु आफ्नो बाध्यता रहेको भन्दै दिनमा ६ सय रुपैयाँसम्म फोहोरको थुप्रोमा बोतललगायत सामान खोजेर कमाउने गरेको उनले बताए ।
महिला भएर पनि सडकमै रमाइरहेकीमध्ये एक हुन्, रेखा घिमिरे । रेखाले पनि राजु र बृुद्धिबहादुरकै जसरी जीवन बिताउँदैछन् । यी व्यक्तिहरु प्रतिनिधिमात्र हुन् । जीवनको वास्तविक महत्व बुझेर संघर्ष गर्न नखोज्दा सडकमा फोहोर टिपेर र अस्वस्थ जीवन बिताउनु उनीहरुको बाध्यता बनेको छ । कतिपय मानिसहरु गरिबीले पनि सडकमा माग्न बाध्य हुने गरेका छन् । पारिवारिक समस्या तथा आफन्तको बेवास्ताले पनि मानिस सडकमा आउने गरेको यथार्थलाई मनन गर्दै सम्बन्धित निकायले परामर्श तथा जनचेतना जगाउनुपर्ने देखिन्छ ।