फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा कोभिडविरुद्धको पहिलो चरणको चाइनिज भेरोसेल खोप ५ हजार ४ सय ६९ जनाले लगाएका छन् । यस्तै भारतीय खोप कोभिशिल्ड भने २१ हजार ४ सय ३ जनाले लगाएका छन् । कोभिशिल्डको दोस्रो मात्रा भने ६ हजार ९ सय ८० जनालाई लगाइएको छ ।

गएको माघ १४ गतेदेखि भारतीय खोप लगाउन सुरु भएकोमा खोप सबैलाई नपुग्ने भएपछि ६ हजार जनालाई पुग्ने खोप प्रदेश आपूति तथा व्यवस्थापन केन्द्रमा भण्डारण गरेर राखिएको थियो । सोही खोप स्वास्थ्य कार्यालय मकवानपुरले नेतालाई मागअनुसार बाँड्दा नेताको घरघरमा, कार्यालय चेम्बरमै लगाउनेको भिड लागेको थियो । स्वास्थ्य कार्यालय मकवानपुर कोरोना खोप व्यवस्थापनमा चुकेको छ । त्यसो त अटो एम्बुलेन्स चालकलाई लगाउने भनेको खोप नेताले लगाएपछि चर्चामा आएको विषय, निजी मेडिकल, हेटौंडा उपमहानगरपालिकालको उपमेयरको चेम्बरमा नेता र कर्मचारीका आसेपासेले लगाएका थिए ।

सरकारले ६२ देखि ६४ वर्षकालाई भनेर तोकेर पठाएको खोप पनि अन्य व्यक्तिलाई समेत लगाइएको छ । यद्यपि खोपको सदुपयोग भएपनि अहिले कोभिशिल्डको म्याद सकिन लागेपछि जिल्लामा दोस्रो चरणको खोप पनि लगाउन सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले कोभिडविरुद्ध खोपको विवरण सार्वजनिक गर्दा केही अनियमिता भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्कमा मकवानपुरका लागि प्राप्त भएको कुल ३ हजार ३ सय ३० भाइल खोपमध्ये ४ सय १ भाइल खोपको विवरण आउन सकेको छैन ।

जिल्लामा कोभिशिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउन कुल २ हजार ८ सय ८३ भाइल खोप खपत भएको र ९० भाइल खोप बाँकी रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । ४ सय १ भाइल खोपको भने कार्यालयसँग अभिलेख स्पष्ट छैन । खोप भण्डारणमा केही समस्या हुँदा नष्ट भएपनि अन्य खोपको बारेमा भने जानकारी नभएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । मकवानपुरमा १४ हजार ७ सय २३ जना नागरिक कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लिन पाएका छैनन् ।