हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि टोल र वडाबाटै योजना छनोटको प्रक्रिया सुरुवात गरेको छ ।
बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहेको मकवानपुरगढी गाउँपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर योेजना निर्माण गर्ने जनाएको छ । स्थानीय तहमा निर्वाचित भएर आएको अन्तिम बर्षको योजना भएकोले यसअघि सुरुवात गरिएका योजनालाई पूर्णता दिने विषय पनि प्राथमिकतामा रहेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभएको छ ।
गाउँपालिकाकै सबैभन्दा ठूलो योजनाको रुपमा अस्पताल भवन निर्माणको कार्य भइरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष हुमागाईले आगामी आर्थिक वर्षमा कृषिमा व्याज अनुदान, कृषिउपजमा सहुलियत वितरण गर्ने योजना प्राथमिकतामा रहेको बताउनुभएको छ । पशुपालन, खाद्यान्न तथा तरकारी बाली र फलफुल बालीलाई व्यावसायिक रुपमा उत्पादन बढाउन पालिकाले युवा किसानलाई प्रोत्साहित गर्ने उहाँको भनाइ छ । विदेशबाट फर्किएका युवालाई पालिकाभित्रै व्यावसायिक कृषि कर्ममा आकर्षित गर्ने र युवा पुस्ता विदेश जाने क्रमलाई रोक्न पालिका जिम्मेवार हुने अध्यक्ष हुमागाईले बताउनुभएको छ ।
प्रभावकारी योजना निर्माणकै लागि पालिकाले टोल र वडास्तरीय भेला गरेर योजना छनोट गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो । मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले आगामी आर्थिक वर्षका लागि योजना बनाउने कार्य तीव्र रुपमा भइरहेको उल्लेख गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले पालिकामा निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बर्षको बजेट निर्माण गरिरहेकोले निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिले सुरुवात गर्नुभएका काम पूरा गर्ने लक्ष्यसहित योजना बनाइरहेको जानकारी दिनुभयो ।