एक महिला पूर्ण तबरले समावेशीकृत हुन, राज्य अनि समाजको मूलप्रवाहमा आउन र सशक्तिकरणको मूलधारमा हुनका लागि विशेषगरी लैंगिक समता, प्रजनन स्वास्थ्य, सम्पन्नता हुनुका साथै संस्थागत सहभागिता साथसाथै जीवनोपयोगी शिक्षा तथा उसमा भएको सीपले धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसरी कुनैपनि महिला पूर्णरूपमा परिपक्वता हुनुका लागि शारीरिक, मनौवैज्ञानिक, सामाजिक, भावनात्मक तथा व्यावहारिक तबरले उमेरअनुसारको वृद्धि र विकास हुनु जरुरी हुन्छ ।
यसै कुरालाई मध्यनजर गर्ने हो भने महिलालाई महिला भनेर चिनिनुका साथै पहिले बालिका तथा किशोरी भनेर चिनिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सोहि उमेरअनुसार हुने गरेको चौतर्फी वृद्धि तथा विकासले नै एक कुशल तथा सशक्तिकृत महिला हुन मद्दत पुग्दछ । त्यसैले विशेषगरी यसका लागि किशोरी अवस्थामा दिइने उचित शिक्षाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
विभिन्न अध्ययन तथा अनुसन्धानहरुका अनुसार शिशुको जन्म हुने उमेर बढ्नु भनेको स्वस्थ शिशुको जन्म हुनु हो र आमालाई गर्भावस्थामा र शिशु जन्माउँदा हुने खतरा जस्तैः कम तौलको शिशु जन्मने, उमेर नपुगी जन्मने, गर्भ तुहिने जस्ता समस्याबाट बचाउनु हो । त्यसअनुसार कम उमेरमा विवाह गर्नेहरूमा छिट्टै गर्भवती हुने अनि गर्भपतन गराउने क्रम बढ्छ । जसबाट तनाब उत्पन्न भएर धेरै दम्पत्तीहरू मानिसक रोगको शिकार हुने गर्दछन् । किशोरी शिक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्छ । तसर्थ, किशोरी शिक्षा सबल भएमा केही हदसम्म समस्याबाट महिलालाई छुटकारा दिलाउन सकिन्छ ।
किशोरीलाई शिक्षित बनाउनुपर्ने कारणहरुः
१. पढाई तथा सुसूचित गराउनः शिक्षाबाट वञ्चित भएका किशोरीहरुका साथै पढाई बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणा दिई उचित शिक्षा दिनसके उनीहरुको भविष्य तथा जीवन उज्ज्वल बन्नसक्छ । साथै प्रत्यक्षरूपमा शिक्षा दिन नसके पनि जीवनोपयोगी सीप प्रदान गरी समूहमा आवद्ध गराई विभिन्न गतिविधिमा संलग्न गराएको खण्डमा पनि व्यावहारिक ज्ञान प्राप्त गरी जीवनको बाटो पहिल्याउन सक्छन् ।
२. बालविवाहः आफूलाई चिन्ने, साथीसंगीमाझ रमाउने, संसार बुझ्ने तथा व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले सोको बारेमा सजग तथा सावधानी गराउन सकिनेछ ।
३. कुपोषणः पोषणको विषयमा किशोरीहरूलाई जानकार तथा शिक्षित बनाएको खण्डमा शारीरिक तथा मानसिक आरोग्यमा निकै नै फरक पार्न सकिन्छ ।
४. किशोरी गर्भधारणः समय नगुग्दै आफ्नै शरीरको राम्रोसँग वृद्धि र विकास हुन नपाउँदै अप्रत्याशितरुपले गर्भवती भएको खण्डमा शारीरिक तथा मानसिक तबरले असामञ्जस्य स्थिति सृजना भई ज्यानैसमेत जान पनि सक्नेछ ।
५. अपराधबाट आत्मरक्षाः यही उमेरमा श्रमशोषण, यौनजन्य दुव्र्यवहारदेखि बेचविखनसम्मको खतराबाट जोगिनका लागि पनि किशोरीहरूलाई उचित शिक्षा प्रदान गरी आत्मरक्षामा स्वनिर्भर बनाउन सकिन्छ ।
६. सन्देश सञ्चारिकाः किशोरीहरूले आफूले सिकेका कुरा आफैँमा सिमित नराखी आफ्नो परिवार, आफन्त, इष्टमित्र, साथीभाइ तथा समाजमा जानकारी फैलाएको खण्डमा समाजिक कुरितिलाई पनि हटाउन वा कमी गर्न पनि एउटा सामुदायिक सञ्चारकर्मीको भूमिका निर्वाह गर्न सकिन्छ ।
७. अभियन्ता तथा स्वयम्मसेवीः आफूले भोगेको व्यवहार र आफूले पाएको शिक्षालाई समानान्तररुपले एक–अर्कामा ठिक बेठिक छुट्याउँदै समदृष्टिको माध्यमबाट समाजमा शिक्षाको माध्यमबाट अभियन्ताको भूमिका निर्वाह गर्न सकिनेछ
।
किशोरी शिक्षाका सम्बन्धमा निम्न तथ्यको ख्याल राख्नु पर्दछः
– किशोरीहरूमा परस्पर सहयोग र सम्बन्ध स्थापना गरी आपसी भावनाको विकास गराउने ।
– किशोरीहरुको आत्मसम्मान, आत्मबल, आत्मविश्वास बढाउने ।
– किशोरीहरूलाई आफ्नो उमेरमा परिआउने जोखिमहरूबाट बच्न सक्षम बनाउने ।
– किशोरी प्रजनन स्वास्थ्य समस्याको उपचारमा किशोरीहरूलाई सहायता जुटाउने ।
– जीवनमा आइपर्ने विभिन्न समस्याहरुको समाधान गर्न जीवनोपयोगी सीप सिकाउने ।
– लैंगिकतामा आधारित हिंसा र विभेदपूर्ण व्यवहारहरूबारे किशोरीहरूलाई जानकारी दिलाएर अरुलाई पनि सचेत पार्न समर्थ बनाउने ।
– किशोरीहरूलाई आयआर्जन गरी आफ्नो र परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने ।
– विद्यालय नगएका किशोरीहरूलाई विद्यालयमा भर्ना भएर नियमितरूपमा पढ्ने अभिप्रेरणा दिने ।
– किशोरीहरूका लागि आवश्यक परामर्श सेवामा पहुँच स्थापित गराउने ।
अन्त्यमा, एक किशोरीको हिसाबले अब आवश्यक छ किशोरीका लागि शिक्षा, जुन बढ्दो बलात्कारका घटनालाई न्यूनीकरण गर्न सहजरुपमा सहयोग पुग्नेछ । कतिसम्मको लज्जाहित छन्, हाम्रा समाज आफ्नै चेलीबेटीमाथि कुदृष्टि राख्दछ । ९ महिनाको बालिकादेखि ८० वर्षका वृद्धा आमा पनि बलात्कार भएको घटना पनि अवगत नै छ । यस सबालमा किशोरीजन अझ बढी देखिएको छ, बलात्कारमा । त्यसैले सम्बन्धित निकायको ध्यानकार्षण हुन आवश्यक छ । सञ्चार जगत र सामाजिक सञ्जालमा किशोरीका भावना र इच्छालगायत के कस्ता धारण छन् भन्ने कुरा बाहिर आएको अवस्था छैन । यस विषयमा किशोरी, अभिभावक, संघसंस्थालगायत सरोकार निकायको ध्यानाकर्षण भए अवश्य सबै किशोरी शिक्षाबाट वञ्चित साथै अनेक पीडा खेप्न पर्दैैन । अहिले भरखर सरकारले बजेट विनियोजनमा पनि किशोरीका कार्यक्रममा चाहिँदो बजेट उपलब्ध भएको अवस्था नभएको स्थितिमा अब किशोरीहरु आफैं अधिकार खोज्नुपर्ने देखिन्छ ।