हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रादेशिक सडकपुल निर्माण गर्न एक अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बहुवर्षीय सडकपुललाई निरन्तरता दिएको र केही सडकपुल थप निर्माण हुने बताउनुभएको छ ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १२ वटा प्रादेशिक सडकपुल निर्माण सम्पन्न गरेको छ । प्रदेशको १३ जिल्लामा ११ सडकपुल र एक झोलुङ्गे पुल निर्माण सम्पन्न भएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले जानकारी दिएको छ । २५ करोड ३८ लाख रुपैयाँको लागतमा १२ पुलको निर्माण सम्पन्न भएको निर्देशनालयका निर्देशक डा. सहदेवबहादुर भण्डारीले बताउनुभयो ।

ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवम् अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले झोलुङ्गे तथा सडकपुल निर्माण गरेको निर्देशक भण्डारीले जानकारी दिनुभयो । देश संघीयतामा आएसँगै बागमती प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको छ । गत साउनमा पनि बागमती प्रदेशका १३ वटा जिल्लामा निर्माण गरिएका ३२ वटा पक्की पुलको एकसाथ मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको थियो ।