हेटौंडाः पल्पसा आइसोलेसन सेन्टरको बिहीबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरद्वारा सञ्चालित पल्पसा आइसोलेसन सेन्टरको अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेसहितको टोलीले आइसोलेसनको अनुगमन गर्नुभएको हो । अनुगमन टोलीले आइसोलेसन सेन्टरको अवस्था तथा प्रदान गरिएको सेवाको बारेमा जानकारी लिनुका साथै विभिन्न रायसुझाव दिइएको हेल्प डेस्कका सदस्य सरोज खनालले जानकारी दिनुभयो ।
पल्पसा आइसोलेसन सेन्टरमा बिहीबार बेलुकासम्ममा १७ जना कोभिड संक्रमित उपचाररत छन् । बिहीबार एकजना घर फर्किएका छन् भने एकजना संक्रमित थप भएका छन् ।
पल्पसा आइसोलेसन सेन्टरमा बिहीबार रक्तदान कार्यक्रमसमेत गरिएको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए । हेल्प डेस्कका सदस्य कृष्णराज कोइरालाले संयोजन गर्नुभएको कार्यक्रम हेल्प डेस्कका सदस्य सरोज खनालले सञ्चालन गर्नुभएको थियो । रक्तदानजस्तो जीवनउपयोगी कार्यक्रमका लागि कपडा तथा तयारी पोशाक व्यवसायी संघले सघाएको संघ अध्यक्ष तेजराज अधिकारीले बताउनुभयो ।
हेल्प डेस्कबाट बिहीबार एक सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–९ निवासी एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो । बिहीबार हेल्प डेस्कको तर्फबाट ३९ जना कोभिड संक्रमितलाई फोनमार्फत् सम्पर्क तथा परामर्श गरिएको बताइएको छ ।
हेटौंडा–५, भैरवरोडस्थित हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाले पल्पसा आइसोलेसन सेन्टरलाई बिहीबार ३० कार्टुन पानी सहयोग गरेको छ । पानी हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष चक्रधर बिडारी, कोषाध्यक्ष राजेन्द्र लामिछाने, सदस्यहरु तोताद्रीनाथ पौडेल, दिपेशमणि भण्डारी, सुदर्शन पाठक र हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्य भीम गौतम, पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठ, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कार्यसमिति सदस्य श्रीकृष्ण कर्माचार्यलगायतको उपस्थिति रहेको थियो ।