हेटौंडाः रोटरी क्लब मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका साथमा जारी निशूल्क खाना खुवाउने कार्यमा शनिबार अग्रवाल समूहले सहयोग गरेको छ ।

हेटौंडा–४ हुप्रचौर निवासी पुष्पा अग्रवाल, डोली अग्रवाल र अल्का अग्रवालले शनिबार निशूल्क खाना खुवाउने कार्यमा सहयोग गरेको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।

रोटरीको अग्रसरतामा निशूल्क खाना खुवाउने कार्यको १८ औं दिनमा शनिबार हेटौंडा–४, हुप्रचौरमा १३३ जना, हेटौंडा अस्पतालमा ८२ जना र असहायहरुका लागि घरमुखी सेवा ३७ जना गरी कुल २४२ जनालाई र हेटौंडा अस्पतालमा उपचाररत ९० जनालाई बिहानीको नास्तासहित एकदिनको खाना खुवाइएको अध्यक्ष सांगामीले बताउनुभयो ।

निशूल्क खाना खुवाउने अभियानलाई हेटौंडा–४ मेनरोडका श्याम शंकर गोर्खालीले ८ हजार १ सय ५ रुपैयाँ र के डी अप्टिकलका प्रोप्राइटर रमेश मानन्धरले १ काटुन अण्डा सहयोग गर्नुभएको छ । निषेधाज्ञाको समयमा विपन्न परिवार र व्यक्ति भोकै बस्न नपरोस् भनी रोटरी क्लब अफ मकवानपुरले जेठ १२ गतेदेखि निशूल्क खाना खुवाउन सुरु गरेको हो । क्लबले निषेधाज्ञा अवधिभर निशूल्क खाना खुवाउने जनाएको छ ।