हेटौंडा–२ स्थित खोप केन्द्रमा कोभिड–१९ विरुद्धको खोप लगाइदिँदै स्वास्थ्यकर्मी ।

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहमा व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको छ । हेटौंडा उपमहानगरका १९ वटा वडाका २० स्थानमा खोप लगाउन सुरु भएको हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रमन झाले जानकारी दिनुभएको छ ।

आज बिहान अर्को सूचना नभएसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको भनिएको थियो । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले प्राविधिक कारणले खोप कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो । तर, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले भने केही आन्तरिक समस्या देखिए पनि त्यसको समाधान गरेर खोप कार्यक्रम सुरु हुने जानकारी दिनुभएको थियो ।

हेटौंडा उपमहानगरक्षेत्रमा चीनबाट ल्याइएको भेरोसेल खोप लगाइँदैछ । ६२ देखि ६४ बर्ष उमेर समूहका करिब ३ हजार लाभग्राही रहेको अनुमान उपमहानगरपालिकाले गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट २ हजार ७ सय जनालाई पुग्ने खोप उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले बताउनुभएको छ । आज र भोलि दुईदिन खोप लगाइनेछ ।