हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयको आयोजनामा विद्यार्थीका लागि मुक्तक प्रशिक्षण कार्यक्रम भएको छ । हरेक साताको मंगलबार साहित्यका विभिन्न विधाको प्रशिक्षण आयोजना गर्ने अभियानको तेस्रो साता मुक्तक लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो ।

भर्चुअल माध्यम जुममार्फत् हरेक मङ्गलबार प्रशिक्षण दिई हरेक शुक्रबार विद्यार्थीलाई आफ्ना रचना वाचन गर्न प्रेरित गर्ने गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताउनुभएको छ । कार्यक्रममा मुक्तककार मनोज पोखरेलले विद्यार्थीका लागि मुक्तक लेखनसम्बन्धी सहजीकरण गर्नुभएको थियो । पोखरेलले मुक्तक विधाको परिचय, सिद्धान्त, मुक्तक लेखनको समसामयिक प्रवृत्तिबारे जानकारी गराउँदै विद्यार्थीलाई अभ्यासमूलक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मुक्तक रचना वाचनसमेत गरेका थिए ।

ज्योति मावि, जनप्रिय मावि तथा रुहेल सिआरसी बालकेन्द्रका गरी करिब १२५ जना विद्यार्थी तथा मुक्तक लेखनमा रुचि राख्नेहरुको सहभागिता रहेको थियो । हेटौँडा–१८ का वडा सदस्य तोयानाथ तिमल्सिनाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयराम थापा, शिक्षकहरु राम अविकास, उमेश पराजुली, अनु रोक्कालगायतको उपस्थिति रहेको थियो । ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।