हेटौंडाः व्यावसायिक पशुपालन गरेका किसानहरुलाई दूध बिक्री गर्ने चिन्ताले आजभोलि सताउन थालेको छ । जिल्लामा निषेधाज्ञा जारी रहँदा दूध बिक्री केन्द्रहरु बन्द भएका छन् । बजारमा दूध बिक्री गर्न लैजाने अवस्था छैन । सानो संख्यामा गाई–भैंसी पाल्ने किसानहरुको दाँजोमा व्यावसायिक फार्म सञ्चालन गरेका किसानहरुलाई अहिले दूध कसरी बिक्री गर्ने भन्ने चिन्ता थपिएको छ ।
‘दैनिक ७० लिटर दूध उत्पादन हुन्छ, दुई दिनमा एक दिनमात्रै सहकारीले दूध संकलन गर्छ’, मकवानपुरका किसान नरेन्द्र लम्साल भन्नुहुन्छ, ‘एक महिनासम्म यस्तै रह्यो भने दूध फ्याक्नुपर्ने अवस्था आउँछ ।’ ‘पनिर बनाएर कति खानु । बजार लगेर के गर्नु खरिदकर्ता नै छैनन्’, लम्सालले भन्नुभयो । अहिले भन्दा एक महिनापछिको चिन्ता उहाँलाई झनै बढी छ । लम्सालको फार्मका ३–४ वटा गाई एक महिनाभित्रै ब्याउँदैछ । ‘गाई ब्याएपछि दैनिक १ सय २० लिटरसम्म दूध उत्पादन हुन्छ’, उहाँले भन्नुभयो– ‘त्यसपछि दूध अझै बढ्ने र बिक्री नहुँदा थप नोक्सान हुने अवस्थाले चिन्तित बनाएको छ ।’
यस्तो समस्या लम्सालको मात्रै होइन । उहाँजस्तै व्यावसायिकरुपमा फार्म खोलेर दूध उत्पादन गर्दै आउनुभएका अन्य किसानहरुको पनि समस्या यस्तै छ । हेटौंडा–३, बसामाडीका किसान खिमप्रसाद तिमल्सिना हेटौंडा बजारसम्म दूध बेच्न ल्याउनुहुन्छ । उहाँले अहिलेसम्म एक डेरी उद्योगलाई दूध बिक्री गर्दै आउनुभएको छ । केही गाउँतिरै बिक्री गर्ने गर्नुभएको छ । दैनिक ५५ लिटर दूध बिक्री गर्दै आउनुभएका तिमल्सिनाले गत वर्षको लकडाउनबाट आफ्नो व्यावसायिक फार्म सुरु गर्नुभएको थियो । ४ वटा गाईमात्र पाल्नुभएका उहाँले अहिले १७ वटा गाईं–भैंसी पाल्नुभएको छ ।
मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी भएको छ । बजारमा केही डेरीले छिटपुटरुपमा दूध बेच्दै आएका छन् । केही किसानले आफैं मोटरसाइकलमा क्यान राखेर खुला दूध बिक्री गर्दै आएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरले संकलन भएको दूध बिक्री गर्न समस्या भएको जनाएको छ । जिल्लामा जारी निषेधाज्ञाका कारण २ दिनमा एक दिनमात्र सहकारीले दूध संकलन गर्दै आएको छ । निषेधाज्ञाअघि दैनिक ४५ हजार लिटर दूध संकलन हुने भएपनि अहिले दिन बिराएर संकलन गर्दा ५० हजार लिटर दूध संकलन भइरहेको छ । मकवानपुरमा संकलित दूध काठमाडौंका ७ उद्योगमा जाने गरेको छ । निषेधाज्ञाअघि सातामा ३ पटक दूध लिन आउने गाडी काठमाडौंबाट अहिले सातामा एकपटक मात्रै आउने गरेको मकवानपुर दुग्ध सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिनुभयो ।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा दुग्ध वितरण आयोजनाले मंगलबार र बुधबार दूध नलिने सूचना जारी गरिसकेको छ । यस्तो अवस्थामा १३ गतेपछि प्रशासनले निषेधाज्ञासम्बन्धी कस्तो सूचना जारी गर्छ, सोही आधारमा दूध संकलन र बिक्री हुने अवस्था आँकलन गर्न सकिने व्यवस्थापक दाहालले बताउनुभयो । दूध बिक्री केन्द्रहरु खोल्न नपाउँदा संकलित दूध खपत नहुने अवस्था आएको उहाँको भनाई छ ।
सहकारीले जनस्वास्थ्यको मापदण्ड पुर्याएर दूध बिक्री गर्दा पनि प्रशासनले रोक लगाएको छ । यसले एकातिर किसानहरुलाई दूध बिक्री नभएर चिन्ता बढाएको छ भने उपभोक्ताहरु बजारमा दूध नपाएर चिन्तित बनेका छन् । यसबारे सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेलाई ध्यानाकर्षण गराएको दाहालले जानकारी दिनुभयो ।