हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कको थोक तरकारी बजार र हेटौंडा ४ खोपेगल्लीको तरकारी बजार बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा दुबै तरकारी बजार बन्द गराउन आदेश दिएसँगै व्यापारीले तरकारी खरिदबिक्री नगरेपछि तरकारीको अभावसँगै मूल्यवृद्धि भएको हो ।
गत जेठ १ गतेदेखि जिल्लाभर निषेधाज्ञा विस्तार गर्दै त्यसअघि दैनिक बिहान ३ घण्टाका लागि खुला गरिएको तरकारी पसलहरु सातामा दुई दिन मंगलबार र शुक्रबारमात्र दैनिक बिहान ३ घण्टामात्रै खोल्न पाउने आदेश जारी भएपछि अधिकांश तरकारी पसल बन्द भएका छन् । तरकारी बिक्री नभएमा नाश भएर जाने भएकाले सातामा दुई दिनमात्र ३ घण्टामात्र पसल खुला गरिँदा तरकारी बिक्री नभएर नोक्सान हुने भएकाले धेरै पसल बन्द गरिएको तरकारी व्यवसायीको भनाई छ ।
तीन दिनसम्म बजार पूर्णरुपले बन्द भएपछि मंगलबार बिहान ५ बजेदेखि ८ बजेसम्मका लागि खुलेको खाद्यान्न तथा तरकारी पसलमा उपभोक्ताको निकै भिड देखियो । मंगलबार बजार क्षेत्रका केही तरकारी पसल तथा ठेलाहरुमा स्थानीयस्तरमा उत्पादन भएका केही तरकारी बिक्रीका लागि राखिएको भए कतिपय उपभोक्ता रित्तो हात फर्कनु परेको थियो । मागभन्दा कम तरकारी बिक्रीका लागि राखिएकै कारण तरकारी अभाव देखियो भने तीन दिनअघिको भन्दा लगभग सबै तरकारीको मूल्य दोब्बर बनाइएको थियो ।
निषेधाज्ञा सुरु भएपछि सस्तो भएको तरकारी फेरि महंगो भएपछि उपभोक्ता थप मारमा परेका छन् ।
एकातिर सबै दिन पसल नखुल्ने, पसल खुल्ने दिन तरकारी अभाव हुने र त्यसमाथि मूल्यवृद्धिले मारमा परेको उपभोक्ताहरुको गुनासो छ । बाहिरी जिल्लाबाट तरकारी नआएको र थोक बजार बन्दजस्तै भएपछि स्थानीय उत्पादन पनि बजारमा नआएपछि अभाव र मूल्यवृद्धि भएको तरकारी व्यापारीको भनाई छ ।
निषेधाज्ञाअगाडि ५० रुपियाँ केजीको गोलभेँडा अहिले ९० रुपैयाँ पुगेको छ । २ सय रुपैयाँ प्रतिकेजीमा पाइने लसुन २ सय ३० रुपैयाँ पुगेको छ । प्याजको मूल्य पनि ४० रुपैयाँबाट वृद्धि भएर अहिले ५० रुपैयाँ भएको छ । केजीको ५० रुपैयाँ पर्ने काँक्रो पनि ९० रुपैयाँ पुगेको छ ।
तरकारी बेच्न नदिएको अवस्थासँगै तरकारीको मूल्यवृद्वि र अभावले व्यापारी र उपभोक्ता दुबै मारमा परेका छन् । सातामा दुई दिनमात्र अत्यावश्यक वस्तु बिक्री गर्ने पसल खोल्न पाउने प्रशासनको निर्णयप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । पहिलो चरणको निषेधाज्ञाको क्रममा हरेक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य वस्तुहरुको पसल खोल्न पाइने अवस्थामै तरकारी पसल खुल्ने समयावधि वृद्धि गर्न माग गरेका तरकारी व्यवसायी अहिले साताको दुई दिनमात्र खोल्न पाउने भएपछि थप निराश बनेका हुन् ।
निषेधाज्ञाको समयमा हजारको तरकारी किनेर ल्याउँदा सयको पनि बिक्री हुन मुस्किल पर्ने गरेको भए पनि अहिले त तरकारी नै पाउन छाडेको व्यवसायी लालबाबु जैसवालले बताउनुभयो । एकै दिनमा तरकारी ओइलाउने र बिग्रने हुँदा तरकारी व्यापारीले ठूलो नोक्सान सहनु परेको हुँदा तरकारी बजार पर्याप्त समय दिएर दिनदिनै खुला गर्नुपर्ने तरकारी व्यापारीको माग छ ।
अहिले किसानले तरकारी पसलसम्म तरकारी ल्याइदिए व्यापारीले बिक्री गरिदिने गरेका छन् । निषेधाज्ञा सुरु भएपछि किसानले बजारसम्म तरकारी लोड गरेर पठाइदिए पनि बिक्री नहुँदा कम मूल्य पाउने र आधा तरकारी खेर जाने गरेको थियो । तर, प्रशासनले अहिले तरकारी बेच्न नदिँदा व्यापारीमात्र नभई उपभोक्तासमेत तरकारी पसल खोज्दै हिँड्नुपर्ने अवस्था बनेको छ । हेटौंडामा दामन, पालुङ, बज्रबाराही, मनहरी, हटिया, गढी, हाँडीखोलालगायतका स्थानहरुबाट किसानहरुले उत्पादन गरेको तरकारी बिक्रीका लागि आउने गरेका भएपनि अहिले तरकारी बजार ठप्पजस्तै छ ।
हेटौंडा १० स्थित बसपार्कमा रहेको माछामासु व्यवसाय पनि बन्द गरिएको छ । कोरोना भाइरस संक्रमण देखाएर थोक तरकारी बजार र माछामासु पसल खोल्न नदिएपछि माछामासु व्यापारी पनि मारमा परेका छन् । जनतालाई भ्रम पार्ने काम गरी आफू सत्तामा बसेर सरकारले भोकमरी सिर्जना गरिरहेको माछा व्यापारी नरेश सहनीले बताउनुभयो