अवस्था सहज हुँदा समानान्तर सत्ताजत्तिकै शक्तिशाली देखिएका गैरसरकारी संस्था (गैसस) हरु महामारीमा भने मौन छन् । डलरवादीको आरोप खेप्दै आएका यी संस्थाहरु महामारीमा कहाँ गए ? किन काम गरेनन् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । प्रश्नकै बीच मकवानपुरका गैरसरकारी संस्थाहरु सक्रिय हुने भएका छन् । नागरिक कोभिड–१९ को महामारीमा परिरहँदा चुपचाप बसेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुले संक्रमण नियन्त्रण र स्वास्थ्य उपचारमा सहयोग पु¥याउने भएका हुन् । भर्चुअल बैठकमार्फत् मकवानपुरमा क्रियाशील संस्थाहरुले यस्तो सहमति गरेका छन् । नागरिकसँग प्रत्यक्ष जोडिने र सरकारको सहयोगीका रुपमा काम गर्ने दावी गर्ने यी संस्थाहरु महामारीमा गत वर्षदेखि नै मौन थिए । चौतर्फी रुपमा आलोचना सुरु भएपछि छलफलमा जुटेका हुन् ।
संक्रमणविरुद्धको अभियानमा राज्यलाई सहयोग गर्ने भनिए पनि त्यसका लागि ठोस कार्यक्रम देखिँदैन । छलफलमा योजनासहित सहयोग गर्ने त भनिएको छ, तर महामारीबाट दैनिक जीवन संकटमा परिरहँदा योजना कहिले बन्ने ? सहयोग कहिले र कसरी ? भन्ने विषय नै अन्यौलमा छ । संस्थामाथिको प्रश्नको जवाफका लागिमात्र प्रतिबद्धता आएको त हैन भन्ने अर्को प्रश्न आउन नदिन काम नै सुरु गर्न आवश्यक छ । योजना बनाउँदा र छलफल गर्दागर्दै मानवीय संकट थप बढ्दै जाने अवस्था छ । त्यसैले जे गर्ने हो तुरुन्त फिल्डमा उत्रनु नै आजको आवश्यकता हो । औपचारिकतामा समय खेर फाल्ने समय यतिबेला छैन । जसले जहाँबाट जति र जुन सहयोग गर्दछ, तत्काल दिनु नै सहयोग हुनेछ ।
अस्पतालहरुमा बेड छैनन् । प्रांगणमा नै उपचार गराउन बाध्यता छ । धेरै संक्रमित आइसोलेसनको अभावमा घरमै बसेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था र आवश्यकताप्रति राज्यका निकायहरुबाट कुनै चासो र चिन्ता लिइएको छैन । गैरसरकारी संस्थाहरुले होम आइसोलेसनमा बसेकाहरुको अवस्था अध्ययन गर्ने र सेवा प्रदान गर्ने योजना बनाए नागरिकलाई ठूलो सहयोग पुग्नेछ । स्वास्थ्य सेवाप्रदायक गैससहरुले घरघरमा रहेका नागरिकलाई सुझावदेखि आवश्यक उपचारको प्रबन्ध गर्न स्थानीय अस्पतालदेखि प्रशासनको समन्वयमा काम गर्न आवश्यक छ । यस्तै जनशक्ति र साधन स्रोतले पुग्ने भए अस्पतालहरुमा समेत सहयोग गर्ने प्रबन्ध गर्नु सक्नुपर्दछ ।
मकवानपुरमा कोभिड–१९ संकट व्यवस्थापनमा नागरिक समाज, संघसंस्थाको भूमिका विषयक भर्चुअल छलफलका सहभागीहरुले लोकप्रियताका लागि मात्र बोलेका हैनन् भने कुन दिनदेखि कस्तो सेवा दिने भन्ने एकीन हुन आवश्यक छ । हुन त अक्सिजन सहयोग गर्न आवश्यक समन्वय गर्ने बताएका छन् । सहयोग दिनेभन्दा लिनेले पनि समन्वय गर्नु आवश्यक छ । राज्यले गैरसरकारी संस्थाहरुलाई सेवाको क्षेत्र नै तोकिदिएर जिम्मेवारी दिएमा अझै व्यवस्थित सेवा पुग्ने देखिन्छ । कुन केक्षमा कसले सेवा दिने भन्ने कार्यसूची बनाएर राज्यले संस्थाहरुलाई जिम्मेवारी दिनुपर्दछ । तबमात्र नागरिकले खेप्दै आएको सास्तीबाट मुक्ति पाउन सहज हुने देखिन्छ । तर यतिबेला ठूलो जनशक्ति घरमै थन्किएको छ, तर सेवा पाउनुपर्नेहरु आपतमा परेका छन् । उचित क्षेत्र र व्यक्तिलाई उचित सेवाको अवसर दिने गरी योजना बनाइनु आवश्यक छ ।