कोरोना महामारीले नागरिक आक्रान्त छन् । विश्व जगत नै त्राहिमाम् भई उद्दारका लागि योजना बनाउँदै गर्दा नेपालका राजनीतिक दलहरु सत्ताको खेलमा रुमलिएका छन् । सत्तामा जान तथा वसिरहन जस्तोसुकै अराजनीतिक निर्णय गर्न नेताहरु तयार भएका छन् । नागरिकको जीवन रक्षाका लागि कुनै योजना छैन, तर सत्ता जोगाउने र जाने खेलका लागि ठूला ठूला योजना बन्दै आएका छन् । संघीयदेखि प्रदेश सरकारमा रहेकाहरु सत्ता जोगाउन अनैतिक र अराजनीतिक निर्णय गरिरहेका छन् भने विपक्षमा रहेकाहरुलाई जसरी पनि सत्तामा जानुपर्ने हतारो देखिएको छ । विगतमा यस्तै गल्ती गर्दा जनतामा राजनीतिप्रति वितृष्ण भएको मौका छोप्दै तत्कालीन राजाले गरेको कु फेरि कसैले नदोहोर्याओस् भन्नेतर्फ नागरिक नै जिम्मेवार हुनु पर्नेछ ।
राजाबाट जनअधिकार फिर्ता लिन नेताहरुले नागरिकसँग गरेका बाचा यतिबेला विर्सिएका छन् । यस्तै संविधानले गरेको व्यवस्थालाई समेत बेवास्ता गर्दै अघि बढ्दै गएको अवस्था छ । सत्ता टिकाउन विवादित छवि भएका व्यक्तिलाई मन्त्री बनाइएको छ । आफ्नै पार्टीभित्रका त्याग र संगठनमा लामो योगदान दिएका तथा सिद्धान्तप्रति प्रतिबद्ध सांसद भन्दा पनि कुनै एक जनालाई मन्त्री बनाउनुपर्ने गण्डकी प्रदेश सरकारको धर्मसंकट नबुझिने रहस्य होइन । केवल सत्ताकै लागि मात्र हो । नैतिकता, इमान्दारिता, स्वच्छता, संवैधानिकतासमेत नचाहिने रहेछ, सत्तामा टिकिरहन । अराजनीतिक चरित्र देखाउँदै सत्तामा बस्नुभन्दा नैतिकरुपमा विपक्षमा बस्न तयार हुनुपर्ने हो, अझै राजनीति गर्नेहरुले ।
राजनीति गर्ने र सत्तामा पुग्ने यही नै अन्तिम मौका हो भने झैं जुनसुकै निर्णय गर्न नेताहरु तयार भएका छन् । जीवनको अन्तिम सत्य नै सत्ता हो भन्ने भ्रम देखिन्छ । जनतासमक्ष जाने बाटो बन्द गर्दै चरित्र नै दाउमा राख्नुपर्ने नेताहरुको बाध्यता नागरिकले बुझ्न नसकेको विषय बनेको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामा सत्तामा जाने हतारोदेखि संसदमा अविश्वासको प्रस्तावको सामना गर्न डराउँदै राजीनामा दिई संसदको अधिवेश बन्द गराई फेरि नियुक्ति लिनुले नेपाली राजनीतिमा नयाँ विशेषता देखिएको छ । सपथ गराउन प्रदेश प्रमुख मन्त्रीकै कार्यालयमा पुग्ने नयाँ अभ्यास सुरु भएको छ । संवैधानिक पदाधिकारीले आफ्नो पदीय मर्यादासमेत ख्याल नगरी पार्टी कार्यकर्ताकै भूमिका निर्वाह गर्नु राजनीतिक संस्कारको नयाँ अध्याय हैन र ?
संसदीय प्रणाली विपरित दलको ह्वीप उल्लंघन गर्दै विपक्ष दलको सत्ता टिकाउने निर्णय कुनै पनि राजनीति चारित्र होइन । आफैंले अपराधी भन्दै मुद्धा चलाएकालाई सत्ताकै लागि छुटाउने निर्णय गर्नु अपसंस्कृति हो । राजनीतिलाई अनैतिकताको पर्याय बनाउने खेल हुँदै आएको छ । राज्यको मूल नीतिलाई फेहोरी बनाउने अधिकार कसैलाई छैन । पुस्तौंपुस्ताले घृणा गर्ने पात्र हुनबाट राजनीति गर्नेहरु जोगिन सक्नु पर्दछ । राजनीति गर्नेहरुका लागि सबैभन्दा ठूलो शक्ति सत्ता होइन, इमान्दारिता हो । नेतृत्वलाई आफू सत्तामा पुगेपछि नागरिकले सबै सेवा सुविधा पाए र विकास निर्माण पूर्ण भएको भ्रम हुने गरेको छ । यो भ्रमबाट मुक्त हुन सकेमात्र सत्ताको खेल अन्त्य हुन सक्नेछ ।