हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रमका बारेमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पौडेलले बागमती प्रदेशका सातवटै मन्त्रालयका सचिवहरुलाई मंगलबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्ने सन्दर्भमा आवश्यक निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधार भई तर्जुमा गर्न सचिवहरुलाई सुझाव दिनुभयो ।
वर्तमान कोभिडको महामारीले पारेका असरहरुलाई समेत सम्बोधन हुनेगरी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न सबै सचिवहरुलाई उहा“ले निर्देशन दिनुभएको हो । मुख्यमन्त्री पौडेलले प्रदेशको पहिलो आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटबीच तादत्म्य हुनेगरी मात्र नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिन समेत सचिवहरुलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले दोहोरो नपर्ने र जन जीविकासँग जोडिने कार्यक्रमहरुको तर्जुमा हुनुर्ने बताउँदै नीतिहरु कार्यान्वयनयोग्य बनाउन सुझाव दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्दप्रसाद पौड्यालले बजेट, कार्यक्रम र नीतिबीच अन्तरसम्बन्ध हुने भएकाले तीनवटै विषयहरुलाई सबै विषयगत मन्त्रालयहरूले ध्यान दिनुपर्ने बताउनुभयो । नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्दा कुनै नयाँ नियम, कानुन वा निर्देशिका आवश्यक पर्ने भएमा सबै विषयगत मन्त्रालयहरुले सो पहिल्याई अग्रिमरुपमा मस्यौदा तयार पार्दा कार्यान्वयमा सहज हुने उहाँको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेशका सातवटै मन्त्रालयका सचिवहरुले नीति कार्यक्रमका सम्बन्धमा आ–आफ्ना भनाइहरु प्रस्तुत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका सचिव प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।