फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि अनुरोध गरे पनि सबै विद्यालयले खाजा कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । संघीय सरकारको कार्यक्रमबमोजिम हेटौंडा उपमहानगरपालिकाले गत मंसिर महिनादेखि विद्यालयहरुलाई विद्यार्थीलाई खाजा खुवाउन अनुरोध गरिए पनि सबै विद्यालयले खाजा खुवाउने व्यवस्थापन गर्न नसकेका हुन् ।

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्यालयहरुमा दिवा खाजा सञ्चालनका लागि बजेट व्यवस्था गरेको थियो । सरकारले देशभरका सामुदायिक विद्यालयहरुमा कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई खाजा खुवाउन आवश्यक बजेट स्थानीय तहमार्फत् विद्यालयलाई उपलब्ध गराएको छ ।

हेटौंडा उपमहानगरपालिकाले विद्यालयहरुलाई खाजा कार्यक्रम सञ्चालन गरी रकम माग गर्न अनुरोध गरे पनि नगर क्षेत्रका १७ वटा विद्यालयले खाजा कार्यक्रम सञ्चालन गर्न नसकेको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभएको छ ।

उपमहानगरभित्रका ७७ वटा सामुदायिक विद्यालयलाई दिवा खाजा कार्यक्रम लागू गर्न उपमहानगरले आग्रह गरेको हो । जसमा ७० वटा विद्यालयले मात्र खाजा खुवाउने व्यवस्थापन गरेको महाशाखाका शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाउन चालु आर्थिक वर्षका लागि उपमहानगरमा ३ करोड ३० लाख बजेट प्राप्त भएको थियो ।

दिवा खाजा खुवाउन नसकोका विद्यालयहरुमा हेर्टौंडा बजार क्षेत्रका पूरा विद्यालयहरु पनि छन् । चन्द्रोदय मावि, नवज्योति मावि, बालज्योति मावि, श्रमिक मावि, भूटनदेवी माविलगायत विद्यालयहरुले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न नसकेको अधिकृत खड्काले बताउनुुभयो । विद्यालयको आन्तरिक स्रोतबाट खाजा खुवाइरहेका ५ वटा विद्यालयलाई उपमहानगरले दिवा खाजाबापतको बजेट निकासा गरेको छ ।

जीवनज्योति प्रावि लेखपानीलाई ३१ हजार ४ सय ५५ रुपैयाँ, रोटरी श्रृजना आधारभूत विद्यालयलाई ४८ हजार ९ सय ६० रुपैयाँ, कृष्ण प्रावि हेटौंडा–६ लाई १ लाख ९ हजार १ सय १० रुपैयाँ, आनन्द भैरब आधारभूत विद्यालय हेटौंडा–११ लाई ५८ हजार ३ सय ५० रुपैयाँर त्रिवेणी आधारभूत विद्यालय हेटौंडा–९ लाई ६६ हजार ६ सय ६० रुपैयाँ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरले आन्तरिक स्रोतबाट खुवाइका विद्यालयलाई जम्मा ३ लाख १३ हजार ९ सय ३५ रुपैयाँ बजेट निकास गरेको हो ।चालुु आर्थिक वर्षका लागि दिवा खाजाबापत ७० वटा विद्यायलयमा करिब ५० लाख रकम निकासा हुने भएको छ । कोरोना भइरस संक्रमण जोखिमका कारण गरिएका लकडाउनका कारण विद्यालयहरु ढिला खुलेकाले प्राप्त बजेटभन्दा खर्च निकै कम हुने खड्काले जानकारी दिनुुभयो । खाजा कार्यक्रमका लागि विद्यालयमा दैनिक हाजिरीअनुसार प्रतिविद्यार्थी १५ रुपैयाँ रकम उपलब्ध गरिने शिक्षा अधिकृत खड्काले बताउनुुभयो ।

विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ अनुसार पोसिलो जाउलो, कोदोको हलुवा र तरकारी, चिउरा मासु, क्वाँटी, मकैको खिर र तरकारी गरी हप्ताको ६ दिनका लागि फरक–फरक खाजा खुवाउन विद्यालयलाई सिफारिस गरिएको छ ।