घरमै पुगेर जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुहुँदै हेटौंडा ८ स्थित मनकामना टोल विकास संस्थाका प्रतिनिधि ।

हेटौंडाः कोरोना संक्रमणको दर बढ्दै गएपछि हेटौंडाका विभिन्न वडा कार्यालयहरुले वडाबासीहरुका लागि घरदैलो सेवा सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडासहित ४ पालिकामा निषेधाज्ञा जारी गरेपछि वडाका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाहरुको गत चौमासिकमा प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधिहरुले घरघरमै पुगेर प्रदान गर्न थालेका छन् ।

निषेधाज्ञाको समयमा बैंकहरु पनि नियमित नखुल्ने तथा भिडभाड कम गरी संक्रमण हुन नदिनका लागि वडाले टोल विकास संस्थाहरुस“ग समन्वय गरी सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउन थालेको हो ।

हेटौंडा ९ नम्बर वडा कार्यालयले सूूचना नै जारी गरेर सामाजिक सुरक्षा भत्ता निकाल्न पर्ने वडाबासीहरुले आफ्नो खाताको चेकमा हस्ताक्षर गरेर रकम उल्लेख गरी टोल विकास संस्थामा प्रदान गर्न तथा टोल विकास संस्थाले संकलन गरेर वडामा प्रदान गर्न जानकारी गराएको छ । यस्तै हेटौंडा–८ मा पनि सामाजिक सुरक्षा भत्ता टोल विकास संस्थाको समन्वयमा वितरण गर्न सुरु गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले सबैको खातामा सामाजिक सुरक्षा भत्ता जम्मा भएपनि बैंकबाट भुक्तानी नहुने जानकारी गराएको थियो । तर यस्तो अवस्थामा वडाबासीहरुलाई पैसाको आवश्यकता पर्नसक्ने भएकाले चेक संकलन गरी एकैपटक सबैको भत्ता घरघरमै पुगेर प्रदान गर्ने निर्णय गरिएको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।