शनिबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै डा. सागर काफ्ले ।

हेटौंडाः हेटौंडा अस्पतालमा रहेको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) वार्डमा उपचाररत शनिबार ३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदैछन् । शुक्रबार २ जना डिस्चार्ज भएका थिए । शनिबार डिस्चार्ज हुने हेटौंडा–८ का ४२ वर्षीय पुरुष र ५९ वर्षीय पुरुष छन् भने हेटौंडा–११ का ५० वर्षीय पुरुष पनि डिस्चार्ज हुँदैछन् ।

एचडियु वार्डबाट डिस्चार्ज हुँदै गरेका एकजना विरामीका दिदीले उपचार प्रभावकारी भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । एचडियु वार्डका ईन्चार्ज डा. सागर काफ्लेका अनुसार एचडियु वार्ड सञ्चालनमा आएको एक साताको अवधिमा १८ जनाले सेवा लिएका छन् भने ६ जना डिस्चार्ज भएका छन् । एकजनालाई हेटौंडा अस्पतालको एचडियु वार्डले अन्यत्र रेफर गरेको छ । हेटौंडा अस्पतालमा ६ बेडको आइसियु र १४ बेडको एचडियु वार्ड स्थापना गरिएको छ । एचडियु वार्डमा रहेका संक्रमित मध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य विरामीको अवस्था खतरामुक्त रहेको डा. काफ्लेले जानकारी दिनुभएको छ ।

शनिबार हेटौंडा अस्पतालमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै डा. काफ्लेले कोरोना भाइरसको दोस्रो लहरको संक्रमण विस्तार भएपछि १ हजार ६ सय ५० जनाको परीक्षण गर्दा ६ सय २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । शुक्रबार अबेर राती प्राप्त प्रयोगशाला रिपोर्टअनुसार २७७ जनाको स्वाब परीक्षण गर्दा १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अहिले मकवानपुर जिल्लामा ५ सय २४ जना सक्रिय संक्रमित रहेको डा. काफ्लेले बताउनुभएको छ । सक्रिय संक्रमित मध्ये ११ जना हेटौंडा अस्पतालको एचडियु वार्डमा उपचाररत छन् भने १३ जना गौरिटार आइसोलेसन वार्डमा छन् । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमित ५ सयजना होम आइसोलेसनमा छन् ।