हेटौंडाः बागमती प्रदेशमा अहिले ५ हजार १ सय ७९ जना प्रहरी कार्यरत छन् । जसमा ४ सय ५० महिला प्रहरी कर्मचारी छन् भने ४ हजार ७ सय २९ जना पुरुष प्रहरी छन् । बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुर बाहेक बाँकी दश जिल्लामा उनीहरु कार्यरत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त लामाले प्रदेशमा प्रहरीको दरबन्दी अनुसार जनशक्ति उपलब्ध नभएको बताउनुभयो । उहाँले प्रदेशमा ७ हजार ९ सय ८० जनाको दरबन्दी भएपनि ५ हजार १ सय ७९ जनामात्रै उपलब्ध भएको बताउनुभयो । न्यून जनशक्तिले पनि प्रदेशमा नया रणनीतिले काम गर्दै आएको उहाँको भनाई छ ।

एक जना प्रहरीले ३७७ जनालाई सेवा दिनुपर्ने यूएनको नीति भएपनि बागमती प्रदेशको एक जना प्रहरीले ५ सय ४२ जनालाई हेर्नु परेको नायब महानिरीक्षक लामाले बताउनुभयो । उहाँले न्यून जनशक्तिलाई परिचालन गरेर प्रदेशमा प्रहरीले उत्कृष्ट काम भर्न सफल भएको बताउनुभयो ।

उहाँले राम्रो काम गर्ने प्रहरीलाई सम्मानित र गलत काम गर्नेलाई दण्डित गरेको बताउनुभयो । चालू वर्षमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६ सय ५१ जना प्रहरीलाई उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको छ भने २ सय ३ जनालाई कारबाही गरेको छ ।