हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ स्थित कटुसपानीमा युवाहरुलाई लक्षित गरी खेलकुद मैदान निर्माण सुुरु भएको छ । गाउँपालिकाको बजेटमा करिब १ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण सुरु भएको हो ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रत्येक वडाका गाउँ–गाउँमा खेलकुद मैदान निमार्ण गरी विद्यार्थी, युवाहरुलाई व्यावसायिकरुपमा नै खेलाडी निर्माण गर्ने लक्ष्य रहेकाले मैदान निर्माण कार्य सुरु गरेको बताउनुभयो । कटुसपानीमा युवा खेलाडीहरुलाई खेल अभ्यास गर्न मैदान नभएको अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरेर मैदान निर्माण सुरु भएपछि युवाहरु उत्साहित बनेको ताम्सालिङ युवा क्लबका अध्यक्ष दीपक वाइवाले बताउनुभयो ।
खेलमैदान तयार भइसकेपछि खेलाडीहरुलाई नियमित अभ्यास गरी खेलको विकास र खेलाडी उत्पादनमा जोडदिने बताउनुभयो । खेलबाट खेलाडीहरु अनुशासित हुने, शारीरिकरुपमा तन्दरुस्त हुनुका साथै देशको स्वाभिमान उच्च राख्ने काम खेलाडीहरुको हुने अध्यक्ष वाइवाकोे जोड छ ।