सञ्चालनमा रहेका विद्यालय मध्ये एक विद्यालय हुन अमर मावि ।

हेटौंडाः जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबारको निर्णयअनुसार हेटौंडा उपमहानगर क्षेत्रका विद्यालय बुधबारदेखि बन्द गर्न आग्रह गरेको भए पनि केही विद्यालय सञ्चालनमा आएका छन् । प्रायः शिक्षण संस्थाहरु बन्द गरिएका भए पनि नगर क्षेत्रका केही सामुदायिक तथा निजी विद्यालय भने सञ्चालन भएका हुन् ।

कोराना भाइरस संक्रमण बढ्दै गएपछि संघीय मन्त्रिपरिषद्ले हेटौंडासहित देशका मुख्य २५ वटा शहरहरुमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय तथा क्याम्पसहरु भौतिकरुपमा सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै आग्रह गरेको थियो । सयममा सूचना प्राप्त नभएर विद्यार्थीहरु विद्यालयमा उपस्थित भएपछि उनीहरुलाई सूचना प्रवाह गरेर पठनपाठन स्थगित गरिएको सञ्चालनमा आएका विद्यालयका प्रधानाध्यापकहरुले जानकारी दिनुभयो ।

सरकार तथा सम्बद्ध निकायको निर्देशनअनुसार बैशाख मसान्तसम्म विद्यालय बन्द गरिए पनि हेटौंडा नगर क्षेत्रका अधिकांश सामुदायिक विद्यालयहरुले आज बिहीबारबाट वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । केही सामुदायिक तथा निजी विद्यालयहरुले कक्षा १० तथा ८ को अनलाइन कक्षा सञ्चालनसँगै अन्य कक्षाको वार्षिक परीक्षाको तयारी गरिरहेका छन् ।