सामुदायिक विद्यालयमा शिक्षकहरुले राजनीति गर्ने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुप्रति अभिभावकहरुको गुनासो छ । शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने भनिए पनि शिक्षकहरुले नै दलीय राजनीति गर्दै आएका छन् । शिक्षक समुदायको अगुवा भएकाले पनि उनीहरु मार्फत संगठन विस्तार गर्न सहज हुने भएपछि दलहरुले शिक्षकहरुलाई नै परिचालन गर्ने गर्दछन् । शिक्षक पनि समाजमा दोहोरो भूमिका निर्वाह गर्न पाएपछि राजनीति गर्नुलाई प्रतिष्ठा कै विषय बनाउने गरेको पाइन्छ । अझ राजनीति गर्ने अगुवा शिक्षकहरुले त अध्यापनलाई समय नै नदिँदा पनि फरक नपर्ने गरेको पाइन्छ । समाजको अगुवा विषय राजनीति भएपनि त्यसको सही रुपमा प्रयोग हुन आवश्यक छ ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालयका शिक्षक अभिभावक संघ (पीटीए) का पदाधिकारीहरुसँग गरेको अन्तरक्रियामा शिक्षकप्रति गुनासो आएको हो । अभिभावकहरुले शिक्षकले दलीय राजनीति गर्दा विद्यार्थीको पढाई समेत प्रभावित हुने गरेको गुनासो गरेका छन् । अभिभावकको गुनासो अहिले मात्र हैन । विगत लामो समयदेखि समाजका सबै क्षेत्रबाट शिक्षकले राजनीति गर्नु हुँदैन भन्दै आएको हो । तर सुनुवाई भएको छैन । पञ्चायतकालमा मानवअधिकारका लागि समाजका सबै वर्गलाई राजनीतिक रुपमा परिचालन गर्न आवश्यक थियो । परिस्थितिअनुसार ठिकै थियो । जसका कारण देशमा राजनीतिक परिवर्तनहरु भएका छन् । तर अब समाजका सबै क्षेत्रले आफ्नो मात्र काम गर्नु पर्ने आवश्यकता छ । आफ्नो जिम्मेवारी र दायित्वअनुसारको भूमिका निर्वाह गरिनु आवश्यक छ ।

पीटीएका पदाधिकारीले सामुदायिक विद्यालयको गुनासो र सुधारका लागि सुझाव प्रस्तुत गर्दा शिक्षकको भूमिकाप्रति प्रश्न उठाएका हुन् । शिक्षकहरुले दलीय राजनीति गर्दा शैक्षिक वातावरणमा समेत प्रभाव पारेको गुनासो छ । अध्यापन बाहेकको समयमा विश्वासका आधारमा विचार प्रकट गर्न पाउनु पर्दछ । त्यो प्रत्येक नागरिकको स्वतन्त्र अधिकार पनि हो । तर जसलाई राजनीति नै गर्नु छैन वा जिम्मेवारी पनि त्यो होइन । उसले गर्ने प्रत्येक क्रियाकलाप राजनीतिमा जोडिने गरेको पाइन्छ । त्यस्तै विचार र आस्थामा फरक मान्यता राख्ने कोही शिक्षकलाई राजनीति गरेको दोषारोपण गर्ने र आरोपीत गर्ने प्रवृत्ति पनि छ । तर अभिभावकहरुले यस प्रकारको आरोप लगाएको पक्कै होइनन् । उनीहरुका मागलाई सम्वोधन गर्नका लागि सम्बन्धित शिक्षकहरु स्वयम् जिम्मेवार बन्नु पर्दछ ।

पीटिए पदाधिकारी स्वयम् पनि राजनीति गरेर नै आएका हुन्छन् । उनीहरुले गर्ने गुनासो भित्रपनि राजनीति त छैन भन्ने प्रश्न पनि उठ्छ । शिक्षकहरुले गर्ने राजनीतिप्रति सचेत गराउने वा होशियारी गराउने महत्वपूर्ण जिम्मेवारी पीटिएको पनि हुनुपर्दछ । यस्तै प्रधानाध्यापक समग्र विद्यालयको प्रशासक हो । उसले पनि यस्ता क्रियाकलापमा नियन्त्रण गर्ने वा सचेत गराउन सक्छ । तर प्रधानाध्यापक पनि राजनीतिक आस्थाकै आधारमा त्यहाँ पुगेको हुन्छ । कुनै पनि विद्यालयमा हुने क्रियाकलापको प्रत्यक्ष निगरानी गर्नु पर्ने निकायहरुले निरन्तर अनुगमन गर्ने हो भने पनि यस प्रकारका गुनासा अभिभावकबाट आउन पाउने थिएनन् । जे जस्तो भएपनि विद्यालयलाई विशुद्ध शैक्षिक गन्तव्य बनाउने क्रममा अभिभावक, शिक्षकदेखि समुदायका सम्पूर्ण पक्षको उत्तिकै जिम्मेवारी हुनु पर्दछ ।