हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाले पूर्ण अशक्त र अपाङ्गता भएका ‘क’ वर्गका व्यक्तिहरुसँग भेटघाट कार्यक्रम गरेको छ । केही समयघि अनुगमन गरिएको अवस्थामा वडा नम्बर ८ मा एक बालिका र वडा नम्बर १८ मा एक युवकलाई थुनेर राखिएको अवस्थामा भेटेको महिला तथा बालबालिका विकास महाशाखाले जानकारी दिएको छ ।

मंगलबार उममहानगरले वडा नम्बर १७ मा भेटघाट कार्यक्रम गरेको छ । अशक्त र अपाङ्गता भएका व्यक्तिले उचित संरक्षणका विषयमा अनुगमन गर्ने क्रममा त्यस्ता व्यक्तिहरुसँग भेटघाट गरेको महाशाखा प्रमुख महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । लामिछानेका अनुसार भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै १९ वटै वडामा भेटघाट कार्यक्रम रहेको बताउनुभएको छ ।

महाशाखाले अनुगमन तथा भेटघाट गर्नेक्रममा अमानवीय व्यवहार गरेर राखेको अवस्थामा फेला पारेको हो । कसैलाई बाँधेर तथा कसैलाई कुखुराको खोरमा थुनेर राखिएको अवस्थामा भेटेको लामिछानेले जानकारी दिनुभयो । मानव अधिकारका हिसाबले यस्तो कार्य गलत भएको जानकारी दिँदै सम्बन्धित अभिभावक तथा आश्रयदातालाई सम्झाइ बुझाइ गरिएको उहाँले बताउनुभयो । स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार हनन नगर्न उनीहरुलाई आग्रह गरिएको लामिछानेले जानकारी दिनुभयो । यस्तो अवस्थामा भेटिएका व्यक्ति अशक्त हुनुका साथै कराउने, चिच्याउने र मानसिक अवस्था कमजोर रहेकोे उहाँले बताउनुभयो ।

२ लाख रुपियाँको बजेटबाट प्रत्येक पूर्ण अशक्त भएका व्यक्तिहरुलाई एक हजार बराबरको समाग्री सबै वडामा वितरण गरिने बताउनुभएको छ । सरकारबाट मासिक तिन हजार भत्ता वितरण भएको हुने हुँदा कतै रकम अफान्तले प्रयोग गरिएको छैन भन्ने उद्देश्यले भेटघाट कार्यक्रम भएको हो । हेटौंडामा २ सय जना ‘क’ वर्गको पूर्ण अशक्तको रातो कार्ड पाएका व्यक्तिहरु छन् । जसमा १८ नम्बर वडामा १७ जना, १७ नम्बर वडामा १० जना, २ नम्बर वडामा ६ जना र ८ नम्बर वडामा ६ जना छन् । लायत अन्य वडामा पनि यस्तै व्यक्तिहरु रहेको बताउनुभएको छ । वडा नम्बर १७ मा राजनीतिक दल, सामाजिक अभियन्तालगायतको सहभागितामा भएको अनुगमन तथा भेटघाट कार्यक्रममा १० जना व्यक्तिलाई एक हजार रुपैयाँका दरले विभिन्न सामग्री प्रदान गरिएको छ ।