हेटौंडाः भूमिहिनलाई जग्गा वितरण गर्ने प्रक्रियामा हेटौंडा १० नम्बर वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुबाट संकलन गरिएको विवरणसम्बन्धमा बुधबार सार्वजनिक सुनुवाई गरेको हो । १० नम्बर वडा सदस्य ईन्द्रप्रसाद नेपालले ऐलानी, सरकारी र वन क्षेत्रको जग्गामा बसोबास गरे पनि १० बर्षदेखि बसोबास गर्दै आएका भूमिहिन र अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा प्रदान गरिने बताउनुभएको छ ।

१० नम्बर वडामा २ सय ५९ जनाले फारम भरेका छन् । फारम भर्नेमा दलित परिवार ३, सुकुम्बासी परिवार १ सय ४१ र अव्यवस्थित बसोबास गर्ने १ सय १५ परिवार रहेको नेपालले जानकारी दिनुभएको छ । दलितको हकमा साढे सात धुर र अरुले ३ कठ्ठा जग्गा प्राप्त गर्न सकिने प्रावधान रहेको नेपालले बताउनुभयो । हेटौंडामा २०१७ सालदेखि नै न्युरेनी लगायतका ठाउँमा भूमिहिन परिवार बसोबास गर्दै आएको उल्लेख गर्नुहुँदै राप्ति, कर्रा र न्युरेनीमा बस्दै आएका भूमिहिन परिवारका लागि खुसीको कुरा रहेको नेपालले बताउनुभएको छ । भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने नेपालको भनाइ छ ।

अधिवक्ता अमृत कुमार लामाले भूमि सम्बन्धी ऐन २०२१ सालमा आएको बताउनुहु“दै यस सम्बन्धी विभिन्न आयोगहरु समेत गठन भएको जानकारी दिनुभएको छ । मुलुकी ऐन २०७४ अनुसार भने ३० वर्षसम्म निरन्तर रुपमा जग्गा भोग चलान गरी आएका जग्गाको हकमा दर्ता गराई लालपुर्जा प्राप्त गर्न सकिन अधिवक्ता लामाले बताउनुभएको छ । अहिले २० बर्षको हदम्यादलाई घटाएर १० बर्षमा पनि जग्गा प्राप्त गर्न सकिने र वन, जङ्गल, चरण क्षेत्र र सार्वजनिक स्थलका जग्गामा भने लालपुर्जा प्राप्त गर्ने सम्भावना कम रहेको जानकारी दिनुहुँदै सक्दो सवैलाई समान रुपमा समेटेर जग्गा प्रदान गर्नुपर्ने अधिवक्ता लामाले बताउनुभएको छ ।

१० नम्बर वडा अध्यक्ष कितापसिं लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाकी अधिकृत बिना थिकेले सार्वजनिक सुनुवाईबाट फछ्र्यौट भएका जग्गा भने आयोगले दिन सकिने बताउनुभएको छ । जेठमा नै जग्गा नाप्न अनमी खटाइने भएकाले जग्गाको सिमाना विवाद नहुने गरी छुट्टाएर राख्न समेत अनुरोध गर्नुभएको छ । न्युरेनीमा कम्पनी र व्यक्तिको हितमा विवाद देखिएको र प्रायः लालपुर्जा प्रदान गर्नमा समस्या रहेको जानकारी दिनुभएको छ । कार्यक्रममा वडा सदस्य धर्मराज बस्नेत, साधना श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।