हेटौंडाः सामुदायिक विद्यालयमा शिक्षकहरुले राजनीति गर्ने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक अभिभावक संघ (पीटीए))का पदाधिकारीहरुले अध्यापन गराउने शिक्षकले राजनीति क्षेत्रमा बढी ध्यान दिने गरेको कारण विद्यार्थीको पढाई बिग्रेको बताएका हुन् ।

मंगलबार हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाकक्षमा भएको भेलामा पीटीएका पदाधिकारीहरुले सामुदायिक विद्यालयको गुनासो र सुधारका लागि सुझाव प्रस्तुत गर्ने क्रममा विद्यालयमा शिक्षकहरुमा राजनीति हावी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । हेटौंडा–१३ स्थित युगचेतना आधारभूत विद्यालयको पीटीए अध्यक्ष तेजकुमार स्याङ्तानले विद्यालयमा शिक्षकहरुसमेत गुट उपगुट बनाएर अध्यापनभन्दा बढी राजनीति क्षेत्रमा लाग्ने गर्नाले विद्यार्थीहरुको पढाई बिग्रँदै गएको बताउनुभयो ।

कार्यक्रममा सहभागी हुनुभएका हेटौंडा–१४ स्थित भृकुटी माविका पीटीए अध्यक्ष चन्द्रकुमार गोलेले पीटीएका पदाधिकारीहरुलाई उनीहरुको जिम्मेवारी बहन गर्न नदिने र सबै काम प्रधानाध्यापक आफैंले गर्न खोज्ने प्रवृत्तिले विद्यार्थीको पढाईमा असर पुगेको बताउनुभएको छ । साथै पीटीएका पदाधिकारीहरुले पनि के के काम गर्ने भन्नेमा अन्योल रहेको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा–१३ स्थित कालिका निमाविका पीटीए अध्यक्ष रामलाल गोलेले अभिभावकमा चेतनाको कमीले गर्दा विद्यार्थीहरुप्रति ध्यान नपुगेको भन्दै सबै अभिभावकले आफ्ना छोराछोरीको अध्ययनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि समुदायमा जनचेतना फैलाउने कार्य गर्न अत्यावश्यक भएको उहाँको भनाई थियो ।

अहिलेका विद्यार्थीहरुमा अनुशासनको कमी भएको भन्दै हेटौंडा–१९ स्थित अरनिको माविका पीटीए अध्यक्ष सुबोध घलानले सम्बन्धित निकायलाई विद्यालयको अनुगमन गर्न अनुरोध गर्नुभएको छ । मुख्यगरी १० वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीहरु विद्यालय समयमा नै लागूऔषधको प्रयोगमा लागेको र विद्यालय तथा शिक्षकले पनि ध्यान नपुर्‍याएका घलानले बताउनुभयो । विद्यालयले समयमा लेखापरीक्षण नगर्ने, शिक्षकहरु अध्यापनमा ध्यान नदिने देखिएको भन्दै उहाँले शिक्षा विकास महाशाखालाई कम्तिमा पनि ३ महिनामा एकपटक प्रत्येक विद्यालयमा अनुगमन गर्न अनुरोध गर्नुभएको थियो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शिक्षा अधिकृत रामचन्द्र खड्काले सहजीकरण गर्नुभएको थियो । खड्काले शिक्षक अभिभावक संघसम्बन्धी नियमावली, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार, विद्यालयको सामाजिक परीक्षण, उपहमानगरपालिकाले विद्यालयलाई प्रदान गर्ने अनुदान तथा छात्रवृत्तिलगायतको विषयमा जानकारी गराउनुभएको थियो ।

उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई कोरोनाबाट जोगाउन स्वास्थ्य सामग्री खरिद गर्न प्रतिविद्यार्थी २ सय रुपैयाँको दरले रकम प्रदान गरिएको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापकहरुसँग नियमित भेटघाट र छलफल भएपनि व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुसँग भेटघाट नहुने र छलफल नहुने हुँदा विद्यालयको गतिविधि के–कस्तो छ र अभिभावकमा उपमहानगरपालिकाको शिक्षा महाशाखाप्रतिको धारणा के छ भन्ने विषयमा जानकारी प्राप्त गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको शिक्षा विकास महाशाखा प्रमुख रिमालले जानकारी दिनुभयो । साथै अभिभावकले नै सबैभन्दा पहिले विद्यालयस“ग समन्वय र विद्यालयको अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।