हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस)को जंगलमा केही समययता वन्यजन्तु मर्ने क्रम बढेको छ । फरेष्ट्री क्याम्पस परिसरका वन्यजन्तु संरक्षणका लागि विश्व वन्यजन्तु सप्ताहको अवसरमा क्याम्पसका विद्यार्थीहरुले सप्ताहव्यापी विभिन्न कार्यक्रम गरेर वन्यजन्तु संरक्षणमा अग्रसर भएका छन् । वन्यजन्तु संरक्षणमा कसैले पनि चासो नदेखाएको भन्दै विद्यार्थीहरुको अग्रसरतामा चलिरहेको वन्यजन्तु सप्ताह आज मंगलबार समापन हुँदैछ । ‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मुल नाराका साथ २६ औं वन्यजन्तु सप्ताह मनाउने क्रममा साताव्यापी कार्यक्रमका संयोजक सुजन खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश ।

समाजः तपाईंहरुले सप्ताहव्यापी कार्यक्रम गरिरहनुभएको छ, यसको खास उद्देश्य के हो ?
खतिवडाः
अहिले नेपाललगायत विश्वभर वन्यजन्तु सप्ताह चलिरहेको छ । सबैजसो देशहरुले सत्पाहव्यापी कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाइरहेका छन् । तर हेटौंडाको सन्दर्भमा यस्तो वन्यजन्तु सप्ताह कहिल्यै मनाइएको थिएन । त्यसैले हामी वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरु मिलेरे हेटौंडामा वृहतरुपमा वन्यजन्तु सप्ताह मनाउन सुरुवात गरेका हौं । यसको मुख्य उद्देश्य जनचेतना बढाउने, वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने भावना जगाउने, सबै सरोकारवालाहरुसँग वन्यजन्तु संरक्षण गर्नुपर्छ भनी ध्यानाकर्षण गराउने नै हो । हेटौंडा र आसपासमा विभिन्न वन्यजन्तुहरु रहेका छन् । त्यसको संरक्षण गर्नुपर्छ । वन्यजन्तुको संरक्षणमा सहकार्य, समन्वयन र सहअस्तित्वको भावना जगाउने हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ ।

समाजः वन्यजन्तु संरक्षणका लागि तपाईंहरु के के गर्दै हुनुहुन्छ ? अरु विद्यार्थीहरुको सहभागिता कस्तो रहको छ ?

खतिवडाः वन्यजन्तु संरक्षणका लागि खासगरी फरेष्ट्री क्याम्पसका विद्यार्थीहरु धेरै समयदेखि सक्रियरुपमा लागिरहेका छन् । फरेष्ट्रीको जंगलमा घाइते अवस्था भेटिएका वन्यजन्तुहरुको उद्दार गरेर उपचारका लागि विद्यार्थीहरुले सहयोग पुर्‍याइरहेका छन् । वन्यजन्तुको उचित बासस्थान, घाँसका लागि पनि विद्यार्थीले आवाज उठाउँदै आएका छन् । वन डढेलो न्यूनीकरणका निम्ति विद्यार्थीहरु लागि परेका छन् । विश्व स्वास्थ्य दिवस मनाउनेक्रममा फरेष्ट्री क्याम्पसको जंगलमा रहेका वन्यजन्तुहरुले प्लाष्टिकहरु नखाओस् भनेर विद्यार्थीहरु मिलेर क्याम्पस परिसर सरसफाई गर्‍यौं । सबै विद्यार्थीले आफूले गर्नुपर्ने प्रयास गरिरहेका छन् जस्तो लाग्छ ।

समाजः वन्यजन्तु घट्दै जानुका मुख्य कारण अथवा कुन पक्षको कमीकमजोरी देख्नुहुन्छ ?
खतिवडाः
यसका लागि म सबैलाई दोष दिन चाहन्छु । किनकि सबैले आ–आफ्नो व्यक्तिगत तहबाट गर्नुपर्ने कामहरु गरिरहेका छैनन् । विभिन्न स्थानीय निकाय, सरोकारवाला विभिन्न कार्यालयहरुले वन्यजन्तु संरक्षणमा प्रत्यक्ष आवद्ध हुनुपर्ने थियो । यसका लागि विभिन्न संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने थियो, जसमा अलिकति पछि परेको जस्तो लाग्छ । फरेष्ट्रीभित्र हेुर्नुहुन्छ भने प्रत्यक्षरुपमा तपाईंले मानवको हस्तक्षेप देख्न सक्नुहुनेछ । सडक विस्तारका लागि भनेर फरेष्ट्री क्याम्पसको पर्खाल भत्काइएको भए पनि त्यसको पुनर्निर्माण हुन सकेको छैन । सुरक्षा प्रणाली र सम्बन्धित प्रशासनको ध्यानाकर्षण कम भएको महसुस गरेका छौं ।

समाजः वन्यजन्तुको संरक्षणमा सम्बन्धित निकायको ध्यान नजानुको कारण के देख्नुहुन्छ ? ती निकायबाट तपाईंहरुले के अपेक्षा गर्नुभएको छ ?
खतिवडाः
सम्बन्धित निकायहरुले वातावरणमा जोड दिइरहेका छन्, तर वातावरणभित्र वन्यजन्तुहरु छन् । ती वन्यजन्तुका बारेमा स्थानीय सरोकारवालाहरुले सोचेका छैनन् जस्तो लागिरहेको छ । योभन्दा २ हप्ताअघि हामीले मृत चित्तल फेला पारेका थियौं । त्यसको सांकेतिक विरोध गर्ने क्रममा हामीले पूर्व–पश्चिम राजमार्ग केही समय अवरुद्ध पनि गर्‍यौं । तर पनि सम्बन्धित निकायले खासै चासो देखाएको छैन । विरोध प्रदर्शन गर्दा पनि सम्बन्धित निकायहरुको खासै ध्यानाकर्षण भएन । अहिले हाम्रो हेटौंडामा जुन वन्यजन्तु रहेका छन्, हेर्न पाइएका छन्, भोलिका दिनमा हेर्न पाइन्छ भन्ने छैन । किनभने अहिले तपाईंले फरेष्ट्री जंगलमा डेढ सयको हाराहारीमा चित्तल हेर्न सक्नुहुनेछ । १०–१५ वर्षअगाडि ४ सयको हाराहारीमा चित्तल रहेको हामीले जानकारी पाएका छौं । चित्तलको संख्या घट्दोक्रममा छ । त्यसैले वन्यजन्तु संरक्षणका लागि सम्बन्धित निकायले गर्नुपर्ने कामहरु, बजेट र तयारीहरुमा अलि बढी जोड दिनुपर्छजस्तो मलाई लाग्छ । वनविज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालयकोे वन संकायले एउटै हाताभित्र आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले पनि वन्यजन्तु संरक्षणमा अलिकति विवाद ल्याइरहेको मलाई लागिरहेको छ । किनभने एकै ठाउँमा दुईवटा क्याम्पस हुँदा कसले के गर्ने भन्ने जिम्मेवारी निर्वाहमा विवाद आउँछजस्तो लाग्छ । यो मेरो हो भन्ने भावना आउँदैन । यस समस्यालाई माथिल्ला निकायहरुबाट समाधान गरिनुपर्छ ।

समाजः अहिलेको समस्या हल गर्न के भइदिए हुन्थ्योजस्तो लाग्छ ?
खतिवडाः
अहिले फरेष्ट्री क्याम्पसको सडकछेउको घेराबन्दी भत्किएको छ, जहाँबाट छाडा कुकुुरहरु भित्र पस्ने र वन्यजन्तुहरु मार्ने क्रम बढिरहेको छ । सधैं गेट खुला रहनुले मानिसहरुको आवतजावत भइरहने र वन फँडानीका काम भएको छ । यी सबै रोक्न भत्किएको तारबारहरु निर्माण र ममर्त गर्नुपर्ने देखिन्छ । साथै प्रशासनिक निकाय र वन कार्यालय पनि जागरुक हुनुपर्छ जस्तो लाग्छ ।