हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले शनिबार उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस मनाइएको हो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा खाद्यान्न वितरण कार्यक्रम गरिएको हो ।
संघले मामाघर नेपाललाई चामाल ५ बोरा, चिउरा १ बोरा, आलु १ बोरा, प्याज १ बोरा, दाल १ बोरा, तेल १ काटुन, नुन १ बोरा, मस्यौरा १ बोरा सहयोग गरेको छ । हाल मामाघर नेपालमा १९ जना बालबालिका आश्रित छन् । ममामाघर नेपालका सञ्चालक अर्पण पराजुलीको लगनशीलताको संघले प्रशंसा गरेको छ ।
कार्यक्रममा मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीले सडक बालबालिकामुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना गरिएको बताउनु भयो । उहाँले बालबालिका सडकमा आउनुपर्ने बाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो सुखद् समयको प्रतिक्षामा आफू रहेको बताउनुभयो । कार्यक्रममा संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल एवम् कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।