हेटौंडाः नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर शाखाको विस्तारित बैठक शनिबार हेटौंडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रीय उपमहासचिव एवम् बागमती प्रदेश ईञ्चार्ज प्रकाश श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

बैठकले पेशागत संगठनको सदस्यता वितरण, नवीकरण, भेला, बैठक, प्रशिक्षण गर्दै महासंघको जिल्ला भेलाको आयोजना गर्ने निर्णय गरेको छ । साथै न्यूनतम पारिश्रमिक निर्धारण, सामाजिक सुरक्षा ऐन कार्यान्वयन लगायतका बारेमा संगठनहरुले आआफ्नो सापेक्षतामा संघर्षका कार्यक्रम सञ्चालन गर्ने तथा ३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा विशेष कार्यक्रम गर्ने निर्णय गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका उपाध्यक्ष रामशरण घिमिरेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’, अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश अध्यक्ष शिव पोखरेल, ट्रेड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य एवम् मजदुर युवा ईञ्चार्ज जनक शर्मालगायतले प्रशिक्षणसहित मन्तव्य व्यक्त गरेका थिए ।