मानव वेचबिखन तथा ओसारपसार मुद्धाका फरार प्रतिवादी वीरेन्द्र महतो धानुक ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले १३ वर्ष अघिदेखि फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । मानव वेचबिखन तथा ओसारपसार मुद्धाका फरार प्रतिवादी वीरेन्द्र महतो धानुकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

२०६४ सालमा बारा जिल्लाको तत्कालीन प्रसौनी गाउँविकास समिति वडा नं. ७ मा रहेको किरान पसल सञ्चालन गर्दै आएका बलिराम साहलाई अपहरण गरी बन्धक बनाएको आरोपपछि महतो फरार रहेका थिए । पक्राउ परेका प्रतिवादी महतोसहित १० जनाको समूहले पसल बन्द गरेर घर फर्कंदै गरेका साहलाई अपहरण गरी बन्धक बनाएर २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीको आरोप छ ।

बन्धक बनाएर राखेका साह प्रतिवादीहरूको पञ्जाबाट भागेर आएपछि महतोविरुद्ध प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्धा दायर गरेको थियो । फरार रहेका प्रतिवादी महतोलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । अदातलमा उक्त मुद्धा मुलतबी रहेको हुँदा बारा जिल्ला अदालतमा दाखिला गरिएको उहाँले बताउनुभयो ।