हेटौंडाः बागमती प्रदेशसभाको मंगलबार बसेको बैठक नेकपा माओवादी केन्द्रका सांसदहरुले अवरुद्ध गरेका छन् । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

नेता जम्मकट्टेलले सरकार भावनात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउनुहुँदै मुख्यमन्त्रीको राजीनामा माग्नुभएको हो । उहाँले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाउनुभयो । मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिनुभयो ।

नेता जम्मकट्टेलले तत्कालिन नेकपाको प्रदेशसभाका बहुसंख्यक सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नै नदिई प्रदेश सरकारले एकलौटी ढंगबाट निर्णय गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारले एक पक्षीय ढंगबाट आफ्नो संसदीय दलको माग अनुसार, प्रदेशको विभिन्न जिल्लामा विद्युतीय बस संचालनको गर्ने प्रक्रियामा सरकारले नै बोलपत्र आव्हान गर्नु नाजायज भएको र सो बोलपत्रहरु तत्काल सरकारले नै रंद्ध गर्नुपर्ने माग गर्नुभयो ।

नेता जम्मकट्टेलले गत पुस १० गतेपछि सरकारको विरुद्धमा ल्याएको अविश्वासको प्रस्ताव स्थगित भएसँगै वर्तमान सरकारले गरेका कैयौं अनियमित कार्यको साथै जिल्ला–जिल्लामा आफ्नो दलगत स्वार्थ पूरा हुने नीतिगत कार्यक्रम तर्जुमा भइरहेकोले अब सरकारको मुख्यमन्त्रीले बुधबार बस्ने बैठकमा स्पष्ट जवाफ नदिएसम्म संसद संचालन गर्न नदिने चेतावनी दिनुभयो ।

नेता जम्मकट्टेलले संसदमा अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउन माग गर्दै आफ्नो दल नेकपा माओवादीको तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भएमा सो नतिजालाई स्वीकार गर्ने बताउनुभएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक चैत्र २५ गते बुधबार बिहान ११ बजेका लागि बोलाउनुभएको छ । मंगलबारको प्रदेशसभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ भने अनुपस्थित थिए ।