हेटौंडाः गजल संग्रह गोधूलि चिन्तनको शनिबार हेटौंडामा विमोचन गरिएको छ । झरना साहित्यिक परिवारको आयोजनामा एक कार्यक्रमबीच गजलकार भोलाप्रसाद शिवाकोटी दम्पतीद्वारा लिखित गजल संग्रह विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तुल्सी थापा र गजलकार शिवाकोटीका पिता कृष्णप्रसाद शिवाकोटीले संयुक्तरुपमा गजल संग्रहको विमोचन गर्नुभएको छ । गोधूलि चिन्तनमा भोलाप्रसाद शिवाकोटी र एस.आर. मञ्जरी (शारदा ओली शिवाकोटी) ले संयुक्तरुपमा लेख्नुभएका गजलहरु संग्रहित छन् । गोधूलि चिन्तनमा एक सय एकवटा गजल रहेका छन् ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो । गजलकार देवराज तिवारी र विश्वनाथ सञ्जेलले विमोचन गरिएको कृतिमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका सदस्य शुभलक्ष्मी प्रभाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वि.स. २०१९ सालमा दोलखामा जन्मनु भएका शिवाकोटी २०४८ सालदेखि शिक्षण पेसामा संलग्न हुनुुहुन्छ । एमए/एमएड अध्ययन गर्नुभएका शिवाकोटी ५ वर्ष निजामती सेवामा रहनुभएको थियो । यस्तै, वि.स. २०२९ सालमा सर्लाहीमा जन्मनु भएका मञ्जरीले स्नातक अध्ययन गर्नुभएको छ । पुस्तकालय परिचारिका संघ नेपाल, मकवानपुर संयोजक रहनुभएका मञ्जरी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ ।
कृतिको समीक्षा गर्दै गजलकार विश्वनाथ सञ्जेलले गजल लेखन आफैंमा जटिल विषय रहेको र संरचनाको दृष्टिले भाव र रचनामा गजलको दृष्टि रहेको बताउनुभयो । सञ्जेलले आन्तरिक पक्षलाई ध्यान दिन र हिन्दी तथा अंग्रेजी शब्दको प्रयोग कम गर्न लेखकलाई सुझाव दिनुभयो ।
गजलकार देवराज तिवारीले गजल लेखनको शैद्धान्तिक पक्षको जानकारी दिनुभयो । उहाँले विमोचन गरिएको गजल संग्रहले साहित्यमा थप ऊर्जा थपेको भन्दै लेखकलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आरसी रिजाल, रमेशमोहन अधिकारी, देवराज लामिछाने, सुवास खनाल, हयग्रिव आचार्य, गणेशकुमार पौडेल, चिरञ्जीवी लामिछाने, अनिता न्यौपाने, सत्यनारायण सिलवाल, निरा शर्मा, भावना सापकोटालगायत साहित्यकारहरुको उपस्थिति थियो ।