मकैबालीमा फौजीकिराको प्रभाव हेर्दै किसान ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा माटो तथा लगाइएका बालीहरुमा विभिन्न प्रकारका किरा र रोग देखापरेको छ । मकवानपुरगढी गाउँपालिकामा हाल लगाएको बालीहरुमा अमेरिकन फौजी किरा प्रकोपका रुपमा देखापरका छन् भने टुटा किरा, रातो खपटे किरा र पाउडरी तथा डाउनी मिल्डेउ रोगहरु देखा परेका छन् ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा देखिएको किरा तथा रोगको पहिचान र न्यूनीकरणका लागि गाउँपालिकाका कृषि प्राविधिकले अनुगमन तथा परीक्षण कार्य सुरु गरेका छन् । गाउँपालिकाले कृषि बालीमा देखिएका रोग तथा किराको प्रकोपको पहिचान तथा उपचारका लागि कृषि प्राविधिक परिचलान गरेको हो ।

मकवानपुरगढी गाउँपालिकाको तल्लो क्षेत्र (खेत) मा मुख्यतया मकैबाली लगाएको छ भने चैते धानबालीको रोपाईं अन्तिम चरणमा रहेको छ । गाउँपालिकाको विभिन्न क्षेत्रमा किसानहरुले लहरे तरकारीबाली (काँक्रो, करेला, लौका, फर्सी), गोलभेँडा, खुर्सानीलगायतका तरकारीहरु लगाएका छन् ।

गाउँपालिकामा अहिले मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखापरेको छ । लहरे तरकारी बालीमा सामान्यतया रातो खपटे किरा र पाउडरी तथा डाउनी मिल्डेउ रोगहरु एवम् गोलभेँडामा टुटा किराको प्रकोप देखापरिरहेको मकवानपुर गढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । कृषि बालीमा देखिएको समस्या समाधानका लागि गाउँपालिकाका सबै वडामा कृषि प्राविधिकहरुको व्यवस्था गरिएको चौधरीले बताउनुभयो ।

बालीनालीमा समस्या देखा परेर कृषकहरुले कृषि प्राविधिकलाई खबर गरेपश्चात् सम्बन्धित वडाका कृषि प्राविधिक तथा गाउँपालिकाबाट समेत स्थलगतरुपमा खेतीबाली निरीक्षण गरिरहेको कृषि प्राविधिक चौधरीले बताउनुभएको छ । कृषि प्राविधिकले समस्या समाधानका लागि आवश्यक प्राविधिक सल्लाह दिने गरेका छन् । प्राविधिक सल्लाह दिँदा माटो तथा मलखाद व्यवस्थापन, बाली व्यवस्थापन, रोग र किराको एकीकृत व्यवस्थापनदेखि विषादीसमेत सिफारिस गरिरहेको चौधरीले जानकारी दिनुभयो ।

मकैबालीको अमेरिकन फौजी किरा नियन्त्रणको लागि नियमितरुपमा बालीको अवलोकन र अनुगमन गर्ने काम भइरहेको छ । अमेरिकन फौजी किराको सुरुवाती अवस्थामा नीमजन्य विषादीको प्रयोग गर्ने र फौजिकिराको लागि पासोको प्रयोग गर्ने गरिएको गाउँपालिकाका कृषि प्राविधिक चौधरीले बताउनुभयो । साथै, फौजी किरा प्रकोपको रुपमा देखापरेमा इमामेक्टिन बेन्जोएट वा स्पाइनोटाराम वा स्पाइनोस्याड नामक विषादी आलोपालो गरी मकैको गुबोमा पर्नेगरी छर्ने सल्लाह दिइएको चौधरीले जानकारी दिनुभयो ।

लहरे तरकारीबालीमा पाउडरी तथा डाउनी मिल्डेउ नियन्त्रणका ढुसीनाशक विषादीको प्रयोग गर्नुपर्ने चौधरीको भनाई छ । लहरे तरकारीबालीमा लाग्ने रातो खपटे किरा नियन्त्रणका लागि कम संख्यामा किरा देखिएमा हातले टिपेर मार्ने र नीमजन्य विषादीको प्रयोग गर्ने तथा साइपरमेथ्रिन विषादीको प्रयोग गर्न आग्रह गरिरहेको उहाँले बताउनुभयो ।

गोलभेँडामा लाग्ने टुटा किराका लागि भने टुटा किराको पासो प्रयोग गर्नु उपयुक्त हुने चौधरीले बताउनुभयो । पहेँलो च्यापच्यापे पासोको प्रयोग गर्ने र नीमजन्य विषादीको प्रयोग गर्ने गरेमा टुटा किरा नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । टुटा किराको प्रकोप बढ्दै गएमा उचित मात्रामा बेलुका ४ बजेपछि स्पाइनोसेड विषादी प्रयोग गर्नु उपयुक्त हुने चौधरीले जानकारी दिनुभयो ।

रोगकिराको प्रकोप देखिएका स्थानहरुलाई लक्षित गरी मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखाद्वारा बाली उपचार शिविरको आयोजना गरिने भएको छ । कृषकहरुलाई रोगकिरा नियन्त्रणको बारेमा स्थलगतरुपमा सहयोग प्रदान गरिरहेको गाउँपालिकाले आगामी चैत २४ गते गाउँपालिकाको वडा नं. ६ बाग्दलीस्थित माटो परीक्षण प्रयोगशाला (आईपीएम सहकारी) भवनमा बाली उपचार शिविर आयोजना गरिने प्राविधिक चौधरीले बताउनुभयो ।

कृषिप्रधान देशमा यस्ता समस्या आउनु दुःखद् रहेको छ । बालीमा रोग तथा किराको संक्रमणले किसानहरुलाई निराश पार्ने र कृषि पेशाप्रति आकर्षित गराउन नसक्ने अवस्था बढेको चौधरीले बताउनुभयो । मकवानपुरगढी गाउँपालिकाका बालीमा प्रकोपको रुपमा देखापरेको रोग तथा किराहरु सबै सरोकारवाला निकाय र अनुभवी कृषि प्राविधिकको सहयोगमा रोकथाम गर्न सकिने चौधरीले जानकारी दिनुभयो ।

अहिले मकवानपुरगढी गाउँपालिकामा देखा परेको यो समस्या विस्तारै अन्य ठाउँमा पनि देखा पर्न सक्नेतर्फ विशेष सतर्कता अपनाएर समयमै रोकथाम र नियन्त्रणमा जुट्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।