हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारबाट सेमिफाइन खेल सुरु भएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन (क्यामरुन) फाइनल प्रवेश गरेको छ । बागमती–८ स्थित जनता माविको खेलमैदानमा भएको खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै रुट्सले फाइनल यात्रा पक्का गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रुट्सका तर्फबाट मौसा, क्युपे, रिम, इबोडे र माबकोपले गोल गरे । जावलाखेलका तर्फबाट फोडे फोफना, अमीर श्रेष्ठ र गौरव श्रेष्ठले गोल गरे । अब रुट्सले बागमती युवा क्बल सर्लाही र थ्रीस्टारक्लबबीच हुने खेलको विजेतासँग फाइनल खेल्नेछ ।
पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच जावलाखेल युथ क्लबका सिमान्त थापा घोषित भए । उनले नगद ५ हजार रुपैयाँ हात पारे । हारसँगै जावलाखेल युथ क्बल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि जावलाखेल युथ क्लबले नवजनजागृति युवा क्लब सिमरालाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । शनिबार दोस्रो सेमिफाइन खेल हुनेछ । शनिबार बागमती युवा क्लब सर्लाही र थ्रीस्टार क्लबबीच सेमिफाइनल खेल हुने एन्फा रेफ्री अकिललाल श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबारदेखि सुरु भएको यस प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ८ लाख रुपैयाँ तथा उपविजेता टिमले नगद ४ लाख रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।