हेटौंडाः हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिताका लागि शुक्रबार विद्यालयका प्रधानाध्यापकहरुको बैठक भएको छ । यही २३ गतेसम्म संस्थागत र निजी विद्यालयहरुले आफ्ना विद्यार्थीको नामावली सिद्धार्थ माविमा दर्ता गराउनुपर्ने छ । प्रतियोगितामा भलिबल, कब्ड्डी, ट्र्याक एण्ड फिल्ड, सितेरियो कराते, तेक्वान्दो, उसु र मार्सल आर्टका खेलहरु हुने छन् ।

सिद्धार्थ माविका प्रधानाध्यापक तथा खेलकुद व्यवस्थापन समितिका सदस्य सचिव मोहन प्रसाद शर्माले विद्यालयको तर्फबाट प्राविधिक रुपमा सहयोग गर्ने र यसमा सबै विद्यालयको सहयोग अपेक्षा गर्नुभएको छ । त्यसैगरी जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख राजन दाहालले १८ वर्ष भन्दा माथिका विद्यार्थीहरु सहभागी गराउन नहुने बताउनुभएको छ । खेल ६ वटा विधामा हुनेछ । तीन वटा खेल कराते, उसु र तोक्वान्दो तौलको आधारमा हुनेछ भने कव्ड्डी खेलमा ५० देखि ६० केजी तौलसम्मका खेलाडीहरुलाई समावेश गराइने छैन ।

यही चैत २६ र २७ गतेका लागि छनोट प्रतियोगिताको आयोजना गर्ने भनिए पनि मार्सल आर्टका खेल चैत २५ गतेदेखि नै हुन सक्ने दाहालले जानकारी दिनुभएकोे छ । हेटौंडा उपमहानगर क्षेत्रका ५० वटा विद्यालयका विद्यार्थी छनोट खेलमा सहभागी हुने अपेक्षा गरिएको छ । हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले प्रतियोगितालाई सफल र भव्य बनाउन विद्यालयले विद्यार्थीहरु सहभागी गरान आग्रह गर्नुभएको छ । शिक्षा विकास महाशाखाका प्रमुख गांगाधर रिमालले खेलकुद जीवनको सिकाईसँग जोडिएको जस्तोसुकै परिस्थिति आए पनि खेलकुद प्रतियोगिता हुनुपर्ने बताउनुभयो ।