बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुरको नागरिकता तथा राहदानी शाखामा सर्वसाधारणको भीड ।

हेटौंडाः विगत केही हप्तादेखि विश्वभर र खास गरेर छिमेकी देशहरुमा कोभिड–१९ संक्रमणको दर बढ्दो क्रममा देखिएको र नेपालमा समेत संक्रण्मा बढ्न सक्ने जोखिम देखिएको भन्दै भीडभाड नगर्न भनी चैत ९ गते सोमबार सर्वसाधारणलाई सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले आफ्नै कार्यालय परिसरमा भने भीडभाड नियन्त्रणको प्रयत्न गरेको छैन ।

आवश्यकताअनुसार संक्रामक रोग नियन्त्रण ऐन कार्यान्वयन गराउनुपर्ने प्रशासनले सार्वजनिक रुपमा सतर्क रहन सूचना जारी गर्दै गर्दा आफ्नै कार्यालय परिसरमा भने भीडभाड व्यापक छ । सर्वसाधारणलाई मास्क लगाउन, साबुनपानीले हात धुन अपील गरिरहँदा बुधबार जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका सर्वसाधारणदेखि कर्मचारी समेतले मास्कको प्रयोग गरेका थिएनन् ।

नागरिकता र राहदानी लिने शाखाको झ्यालबाहिर सेवाग्राहीको खचाखच भीड भइरहँदा प्रशासनका कर्मचारी भने कर्मचारीको अभावमा सेवा प्रवाहमा ढिलाई भइरहेको बताउँदै थिए । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ निषेधित भएको र सुर्तीजन्य पदार्थ विक्री वितरण तथा सेवन गरे कारवाही गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका कर्मचारी सेवाग्राहीको भीडभाडका बीच कार्यकक्षमै बसेर सुर्ती माडिरहेका थिए ।