हेटौंडाः हेटौंडा–२, संगमचोकस्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थीलाई अभिप्रेरणामूलक कक्षाको आयोजना गरिएको छ । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई असल आचरण, व्यक्तित्व निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ विद्यालयले अभिप्रेरणामूलक कार्यक्रमको आयोजना गरेको हो ।
अभिप्रेरणामूलक कार्यक्रममा रवि किरणले सहजीकरण गर्नुभएको थियो । विद्यार्थीका लागि अभिप्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएका रवि किरणले बालबालिकालाई असल व्यवहार निर्माण गर्ने उपायका बारेमा जानकारी गराउनुका साथै लागूऔषध, कुलत, मोवाइल, कम्प्युटर तथा ती सामग्रीमा अनावश्यक रुपमा अल्मलिने प्रवृत्ति नियन्त्रणका लागि महत्वपूर्ण सुझाव प्रदान गर्नुभएको ज्ञानोदय बालबाटिका एकेडेमीका शिक्षक सुदीप बर्तौलाले जानकारी दिनुभएको छ ।
बालबालिकालाई नियमित पठनपाठनसँगै अभिप्रेरणामूलक कक्षाले उनीहरुको पठन अभ्यासमा थप उर्जा हुने अपेक्षासहित कार्यक्रम गरिएको शिक्षक बर्तौलाको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका ध्यक्ष गिरिबहादुर सुवेदीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा अभिप्रेरणामूलक कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमाल, वडा सदस्य महेश्वरमान श्रेष्ठ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, ज्ञानोदय बालबाटिका एकेडेमीको शिक्षक अभिभावक संघका अध्यक्ष प्रविण गोर्खाली, सदस्य जीवकला गिरिको पनि उपस्थिति रहेको थियो । ज्ञानोदय बालबाटिकामा एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।