मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थगितका विषयमा अनेक अड्कल हुन थालेका छन् । उम्मेद्वारहरुले चुनावी अभियान तिव्र बनाइरहेको अवस्थामा अचानक कार्यक्रम स्थगित हुनुले आशंका बढाएको हो । राजनीति हो कि बाध्यता भन्ने अड्कल सुरु भएका छन् । निर्णयका पक्ष–विपक्षमा मत आउन थालेका छन् । अध्यक्षका एकजना उम्मेद्वारले त संघको निर्णयविरुद्धमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका छन् । विशुद्ध व्यावसायिक संस्थाभित्र राजनीतिक प्रभाव हुँदै आएको अवस्थामा त्यसकै छायाँ यसपटक पनि देखिएको दावी गर्नेहरुको संख्या ठूलो छ । तर कोरोना भाइरस संक्रमणको जोखिम वृद्धिलाई आधार बनाएर कार्यक्रम स्थगित भएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै धेरैजना जमघट हुने सभा, सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको अपिललाई कारण देखाउँदै साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित भएको छ । परिस्थिति अनुकूल भएपछि उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन गर्ने संघको बैठकले निर्णय गरेको छ । यो निर्णयले साधारणसभा हुने दिन अनिश्चित बनाएको छ । महामारी फैलिएको अवस्था होइन तर पनि सरकारले होशियारी अपनाउन अनुरोध गरेकै भरमा व्यवसायीहरुको नेतृत्व चयनलाई प्रभावित पार्ने प्रयासलाई सहजरुपमा लिन सक्ने अवस्था छैन । निर्वाचनका लागि उम्मेद्वारहरुले दलीय आवद्धता लिने प्रयास गरेका तर ठोस निर्णय गर्न नसक्दा प्रशासनको अनुरोधलाई आधार मानिएको प्रष्ट देखिन्छ ।
छिमेकी देशमा कोभिडको संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै देशभर सभा, जुलुस, र्याली, भेला, गोष्ठी, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको थियो । यही निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जिल्लाभित्र अत्यावश्यक बाहेकका भिडभाड हुने कार्य नगर्न विज्ञप्ति जारी गरेको हो । यही विज्ञप्तिलाई मकवानपुर उद्योग वाणिज्य संघले उम्मेद्वारहबीचमा सहमति खोज्ने मौकाका रुपमा उपयोग गर्ने प्रयास गरेको देखिन्छ । व्यवसायीहरुबीच राजनीतिक आस्थाका अधारमा निर्वाचन हुनुलाई स्वस्थ प्रतिष्पर्धा मान्न सकिँदैन । व्यावसायिक मूल्य मान्यता भन्दा पनि दलीय आस्थाका आधारमा उम्मेद्वारी दिने लहर नै छ । अध्यक्षमा तीन जनाले उम्मेद्वारी घोषणा गरेपछि दलहरुबीच पनि सम्वाद सुरु भएको थियो ।
कोरोनाको प्रकोपप्रति सचेत हुन गरिएको अनुरोधकै भरमा यस्ता कार्यक्रम प्रभावित हुने हो भने समाज फेरि लकडाउनकै अवस्थामा पुग्ने देखिन्छ । तर सतर्क रहन अनुरोध गर्दैमा निर्वाचनजस्तो कार्यक्रम नै स्थगित गर्नुमा स्वास्थ्य सचेतताभन्दा बढी राजनीति देखिन्छ । नहुनु पर्ने स्थगित भई नै सकेपछि अब उम्मेद्वारहरुबीच सहमति गराउने पहल पनि संघले गर्नु आवश्यक छ । मकवानपुर उद्योग वाणिज्य संघमा पूर्वनेतृत्व भन्दा वर्तमान कार्यसमिति केही गतिशील देखिएकै हो । कुनै विवादमा मुछिएन भने नयाँ कार्यको सुरुवात पनि गरेको छ । तर निर्वाचनका विषयमा राजनीति गर्ने प्रयास भएको आशंका मेटाउने जिम्मेवारी पनि निर्वाह गर्नु पर्दछ । नत्र असल काम गर्दागर्दै पनि संघको नेतृत्वले राजनीति गरेको आरोप लाग्नसक्ने खतरा छ ।