हेटौंडाः हेटौंडामा जारी शहीद स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता मकवानपुर–११ फाइनलमा प्रवेश गरेको छ । शहीद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई ४–३ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ फाइनल प्रवेश गरेको हो ।
मच्छिन्द्रले सुरुवाती अग्रता लिए पनि हार व्यहोर्न बाध्य भयो । घरेलु टोलीका लागि म्यान अफ द म्याच अमीर श्रेष्ठले २ गोल गरे भने रुपेश केसी र रञ्जन विष्टले १–१ गोल गरे । मच्छिन्द्रका लागि पुजन उपरकोटी, अशोक थापा र राजेश परियारले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अमीर श्रेष्ठ घोषित भए । अमीरले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
म्यान अफ द म्याचको ट्रफी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हस्तान्तरण गर्नुभयो । दोस्रो सेमिफाइनल खेल बिहीबार क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (अरास) र नेपाल आर्मीबीच खेल हुनेछ ।