हेटौंडाः संघीय सरकारबाट प्रदेश सरकारलाई जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि चितवन जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन हुन सकेको छैन । चितवन जिल्लामा २०७३/०७४ मा संघीय सरकारले काम गरेकोबाहेक बागमती प्रदेश सरकारले काम अगाडि बढाउन नसकेको हो ।
चालु आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत् चितवनमा २ सय वटा घर निर्माण गर्न बजेट आएपनि काम हुन नसकेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । त्यसो त मकवापनुर जिल्लामा पनि चालु वर्षमा २ सय वटा घर बनाउने कार्य अगाडि बढ्न सकेको छैन । मकवानपुरमा गत वर्षसम्म जनता आवास कार्यक्रमअन्तर्गत् ३ सय ९६ घरहरु निर्माण सम्पन्न भइसकेका छन् । १ सय ४ घरहरु निर्माणाधीन अवस्थामा छन् ।
चालु आर्थिक वर्षमा ७ करोड बजेट आए पनि काम हुन नसक्दा बजेट फ्रिज हुने अवस्थामा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका सूचना अधिकारी मनोज लामिछानेले बताउनुभयो । जनता आवास कार्यक्रमको छनौट समितिको बैठक बस्न नसक्दा समस्या भएको हो । घर छनौट गर्न नसक्दा जनता आवास कार्यक्रम यस वर्ष अन्यौलमा छ । सहरी विकास तथा भवन कार्यालय मकवानपुरले मकवानपुर र चितवन दुबै जिल्लामा कार्य गर्दै आएको छ ।
गरिबलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न, मुस्लिम समुुदायका नागरिकलाई लक्षित गरेर यो कार्यक्रम सुरु भएको थियो ।