हेटौंडाः मानव बेचबिखनविरुद्ध निजी क्षेत्रसँगको सहकार्य विषयमा अन्तरक्रिया भएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा ग्रामीण जागरण तथा विकास संगठन (राडो) नेपालले शनिबार हेटौंडामा अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रियामा माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले मानव बेचबिखनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न स्वरुपमा मानव बेचबिखन भइरहेको विषयमा अन्तरक्रियापछि निजीक्षेत्रका प्रतिनिधिले मानव बेचबिखन नियन्त्रणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले श्रम शोषण, न्यून पारिश्रमिक भुक्तानी गर्ने गरी उद्योग, कलकारखानाले काममा नलगाएको स्पष्ट पार्नुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले गरिबी र बेराजगारीका कारण मानव बेचबिखन भयो भनिरहँदा रोजगारदाताले दक्ष, अदक्ष दुवै प्रकृतिका जनशक्ति पाउन नसकेको गुनासो गर्नुभयो । राडो नेपाल मकवानपुरका कार्यक्रम संयोजक दिपेन्द्र कुमार पाठकले मानव बेचबिखन विरुद्धको अभियानमा विभिन्न सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।