बल नियन्त्रणमा लिन खोज्दै संकटा र नेपाल पुलिस क्लबका खेलाडीहरु ।

हेटौंडाः स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा संकटाले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । शनिबार हेटौंडाको वन विज्ञान क्याम्पसमा भएको खेलमा संकटाले १–० गोलअन्तरले पुलिसलाई पराजित गरेको हो ।

संकटाको जितमा अफ्रिकी खेलाडी अकेइले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे । म्यान अफ द म्याच संकटाका नितिन थापा घोषित भए । नितिनले नगद १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताअन्तर्गत भोलि आइतबार एपीएफ क्लबविरुद्ध सर्लाहीको बागमती युवा क्लबबीच खेल हुनेछ । आगामी चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले ३५० सिसीको बुलेट बाइक प्राप्त गर्नेछन् ।