जमुना थिङ

बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको चर्चा अहिले सबैतिर छ । १७ वर्षीया किशोरी भागरथीलाई न्याय दिलाउन महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरु अग्रसर बनिरहेका छन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा सङ्ग्लनलाई अझै पक्राउ गर्न नसकेको अवस्था छ । देशभर भागरथी भट्टको चर्चा सेलाउन नपाउँदै हेटौंडामा चेलीबेटी सशक्तिकरण बनाउन भन्दै मूलधार महिला सेवा केन्द्रले माघ २७ गतेदेखि तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन गरिरहेको छ । यसले पक्कै कतै म पनि सुरक्षित छु कि भन्ने आशा त दिलाएको छ । तर अहिलेको घटनाको परिवेशलाई हेर्दा कतै मानवता त हराएको होइन ? भन्ने प्रश्न खडा भएको छ ।

लैङ्गिक विभेद बुझिदेउ, कि त लिङ्ग मासिदेउ, कि त अब फाँसी देउ भन्दै ठूलो संख्यामा महिलाहरुलगायत मुख्यमन्त्रीको पनि उपस्थितिमा तीनदिने चेलीबेटी सशक्तिकरण अभियान चल्दैछ । आसनमा महिला, भाषणमा महिला र शासनमा महिलाका नारा पनि थियो र मेची–महाकली अभियानअन्तर्गत् रहेर हिंसारहित समाजको निर्माणमा सहज तरिकाले सहयोग पुगोस् त भनेकै छ । मिडिया, संघसंस्था र राजनीतिक दल ठूलो संख्यामा रहे पनि बलात्कार र यौन दुव्र्यवहारका घटना बढ्दा को को जिम्मेवारी भन्ने त ? मिडियामा आनलाइन बालयौन दुव्र्यवहार बढेको समाचार सार्वजनिक भइरहेको छ, यतिबेला । सबैले बुझ्नुपर्ने बिषय भनेको बलात्कार र यौन दुव्र्यवहार गर्न कसले दियो, सामाजिक र चेतनशील प्राणी भनाउँदालाई ?

यसैगरी गुलाब शाह खातुन नबालिकाको बलात्कार गरी हत्या गरिएको थियो । बालबालिका भविष्यका कर्णधार हुन् । कोपिला छन्, फुल्न देउ । बिचमै कोपिलालाई चुँड्यो भने बास्ना लिन सम्भव छैन । बिचरा कोपिलाको के दोष, जो आफ्नो भविष्यबारे नै अनविज्ञ छन् । यस्तो बेलामा माया, साथ, सहयोगले हौसला दिएर भविष्यको बाटो देखाइदिनुपर्छ । विडम्बना भविष्य देखाइदिनुको सट्टामा उल्टै नरपिचाशहरुले फुल्न नपाउँदै कोपिलामै चुँडिएको छ । सरकार यस विषयमा किन मौन छ, जसले कुकर्म गर्छ त्यसलाई दरिलो कानुन त चाहियो नि । विकास निर्माण कार्य हुन गाह्रो छ । सँगै विकृतिलाई हटाउन पनि त्यति सजिलो छैन । जहाँ विकृतिहरु फैलिसकेका छन्, एउटा हुर्किंदै गरेको बालिका बलात्कृत हुनु चानचुने होइन ।

अपराधिलाई फाँसी नदिए झन् अपराधिहरूको मनोबल बढ्नुको साथै थप अपराध बढ्छन् । कसरी ग्यारेन्टी गर्ने, म सुरक्षित छु । बढ्दैछन् अपराध गर्ने अपराधिहरु । यस विषयलाई गम्भीरतापूर्वक लिनुहोस् सरकार, अब त अति भयो । जसले १२ वर्षमै संसार छोड्नु परेको छ, नरपिचाशहरूले गर्दा । ती बहिनीको कति राम्रो सपना थियो होला, जसले चक्नाचुर परेका छन्, त्यसलाई मृत्युदण्ड दिइयोस् ।

मिडियामा अनलाइन बालयौन दुव्र्यवहार बढेको सुन्दा कता–कता मन खेलिरहेको छ । आखिर किन बालबालिकामाथि यौन दुव्र्यवहार गर्छन् ? के सबै बालबालिका हाम्रो होइन र ? बालबालिकाको चारित्रिक व्यक्तित्व विकास गर्नसक्ने क्षमता हुनुपर्दछ । तर अभिभावक स्वयम्ले यौन दुव्र्यवहार गरेर बालबालिकाको मानसिक र शिक्षामा असर पुग्नेगरी यौन दुव्र्यवहार गर्नु कत्तिको लज्जास्पद विषय छ । अभिभावकले सोच्ने भनेको आफ्नो सन्तानमात्र बच्चा हुन् । वास्तवमा भन्ने हो भने संसारभर छरिएर रहेका बालबालिका सबै हाम्रै सन्तान हुन् ।

भावी दिनलाई कसरी समृद्ध र सुखी नेपाल बनाउने भन्ने कुरा बालबालिकामा भर पर्छ तर अभिभावकले नै सन्तानमाथि कुदृष्टि राख्दा कसरी सुरक्षित होला बालबालिकाको भविष्य ? जुन परिवार र समाजमा हुर्किंदै गयो, त्यही समाजको व्यवहार बालबालिकाले सिको गर्दै जान्छन् । यहि परिवेशले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई प्रहार गरेको छ । त्यसैले म एउटी चेली र सम्पूर्ण चेलीहरु तपाईंहरुको हो । हामी चेलीहरुको पीडा तपाईंहरुले बुझ्नु हुनेछ ।