प्रहरी व्यारेकको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः नेपाल प्रहरीको हेटौंडा–१५, रातोमाटेस्थित सशस्त्र प्रहरी गणको व्यारेक भवनको बुधबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यारेक भवनको उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको चार करोड ३९ लाख २२ हजार रुपैयाँ लागतमा १६ कोठा भएको तीनतल्ले भवन निर्माण गरिएको हो ।

बुधबार उद्घाटन गरिएको नेपाल प्रहरीको व्यारेक भवन ।

व्यारेक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधारको अभावमा सुरक्षा व्यवस्था कायम हुन नसक्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले पूर्वाधार तथा स्रोतसाधन सम्पन्न भए मात्रै सुरक्षा व्यवस्था काम गर्न सक्ने बताउनुभयो । संगठन मजबुद हुनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिनुभएको छ । कानुनी अस्पष्टताका कारण केही असहजताका बाबजुद बागमती प्रदेश सरकारले सुरक्षा निकायका ४६ वटा भवन निर्माण सम्पन्न गर्न लागेको र थप २१ वटा भवन निर्माण गर्न स्वीकृति प्रदान गर्नुका साथै बजेट समेत विनियोजन गरिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

१७ वटा भवनको निर्माण कार्य पूरा भइसकेको र चालु आर्थिक वर्ष भित्रै ४६ वटै भवन निर्माण सम्पन्न हुने बताइएको छ । व्यारेक भवन निर्माण भएसँगै प्रहरी कर्मचारीले सहज रुपमा काम गर्ने अवसर प्राप्त गर्ने रातोमाटे गणका गणपति प्रहरी उपरीक्षक केदार खनालले बताउनुभएको छ । भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव मानबहादुर बिके, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी प्रमुख बसन्त कुमार लामाको पनि उपस्थिति रहेको थियो ।